अपडेट 
२०७७ पुष १४, मंगलवार १६:०३

राजासहितको हिन्दु राष्ट्र स्थापनाको माग गर्दै मंगलबार राजविराजमा हुन लागेको बृहत प्रदर्शनलाई संयुक्त यूवा विद्यार्थीले बिथोलिदिएका छन् ।

जसपा निकट राष्ट्रिय विद्यार्थी संघ, काँग्रेस निकट नेवि संघ तथा नेकपा (प्रचण्ड–माधव समूह) निकट राष्ट्रिय यूवा संघ नेपालमा आवद्ध यूवा विद्यार्थी नेता कार्यकर्ताले राजावादी पक्षधर सप्तरी समाज नामक संस्थाले निकाल्न लागेको प्रदर्शनलाई बिथोलिदिएका हुन् । तीन दिनदेखी भइरहेको प्रदर्शनको तयारी र प्रचारप्रसारपछि राजविराजस्थित शिवमन्दिर परिसरमा बिहान ११ः३० बजेतिर सप्तरी समाज नामक संगठनका अगुवा तथा कार्यकर्ताहरु झण्डा र ब्यानरसहित एकत्रित भइरहेका थिए । सोही बखत संयुक्त विद्यार्थी सप्तरीमा आवद्ध राष्ट्रिय यूवा विद्यार्थी संघका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादव, राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य निरन्जन झा, नेवि संघका जिल्ला अध्यक्ष धनानन्द यादव लगायतको नेतृत्वमा आएका यूवा विद्यार्थीले हस्तक्षेप गरि प्रदर्शनकारीले ल्याएको झण्डा र ब्यानर खासेर डिजल छर्कि आगो लगाइदिएका छन् ।

उक्त घटनापछि ती समूहलृ टायर बालेर प्रदर्शन र राजाबिरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । सप्तरी समाजको नाम दिएर राजावादीहरुले संविधान बिरोधी काम गरेका कारण आफूहरुले हस्तक्षेप गरेको संयुक्त यूवा विद्यार्थीमा आवद्ध विद्यार्थी नेताहरुले बताएका छन् । संविधानमा राजतन्त्रको व्यवस्था नरहेको र धर्म निरपेक्ष राष्ट्र रहेका कारण आफूहरुले कार्यक्रम बिथोलेको उनीहरुको भनाई छ । यता राजावादी र हिन्दु राष्ट्रपक्षधर सप्तरी समाजका सल्लाहकार बिनोद कुमार पाण्डेले हस्तक्षेपलाई दुरभाग्यको संज्ञा दिँदै संविधानमा सबैले आ–आफ्नो विचार राख्न पाउने व्यवस्थाका बाबजुद निरंकुश शैलीमा आफूहरुको कार्यक्तम बिथोलिएको बताएका छन् ।
कार्यक्रम बिथोल्दा प्रहरी प्रशासन मुकदर्शक बनेको बताउँदै उनले केही दिनभित्रै पुनः तयारीका साथ कार्यक्रम गर्ने जानकारी समेत दिएका छन् ।

यसैबीच मंगलबारै सप्तरी समाजका अध्यक्ष राजेश दास र सल्लाहकार बिनोद कुमार पाण्डेको अगुवाईमा एक समूहद्वारा जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा शान्तिपूर्ण कार्यक्रममा एकपक्षद्वारा गरिएको हस्तक्षेप र प्रहरी प्रशासनको मौनताप्रति खेद व्यक्त गर्दै केही दिनभित्रै जिल्लामा हुने शान्तिपूर्ण प्रदर्शन आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन माग गरिएको छ ।

Comment


Related News

Latest News

Trending News