अपडेट 
२०७७ पुष २०, सोमबार १६:१५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता विवाद अन्त्य गर्न निर्वाचन आयोगले पत्र पठाएको छ ।

पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूह दुबैले आफ्नो समूह आधिकारिक भएको भन्दै दाबी गरिरहेका बेला आयोगले वैधानिकता विवादको निरुपण गर्न प्रक्रिया थालेको हो ।आयोगले वैधानिकता दाबी र दुवै पक्षबाट प्राप्त कागजातबारे अध्ययन गरेर दुवै पक्षलाई पत्र पठाएको छ । आयोगको कानुन शाखाले विवादबारे दुवै पक्षबाट आयोगलाई प्राप्त कागजात अध्ययनपछि पत्र पठाएको जनाएको छ ।

पत्रमा एक समूहलाई अपुग कागजात बुझाउन म्याद तोकिएको छ भने अर्को समूहलाई कानुनी जानकारी गराइएको उल्लेख छ । आयोगका अनुसार प्रचण्ड-माधव पक्षको पत्रमा पुरानो पार्टीमा रहेका केन्द्रीय सदस्यको बहुमत आफूसँग रहेकाले पार्टीको नाम, झण्डा र चुनाव चिह्न दाबी गरिएको छ ।ओली पक्षको पत्रमा केन्द्रीय समिति विस्तार र विधान संशोधनबारे मात्रै आयोगलाई जानकारी गराइएको छ । ती दुई समूहबाट फरक-फरक मितिमा एक पक्षबाट ३ वटा र अर्को पक्षबाट २ फरक मितिमा २ वटा पत्र दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवैतर्फबाट प्राप्त केन्द्रीय समितिको निर्णयको प्रतिलिपि हेरेर आयोगले दुवै समूहलाई आवश्यक कानुनी प्रक्रियाका पुर्याउन पत्र पठाएको बताए ।

संसद विघटनपछि दुवै पक्षले आफू आधिकारिक भएको दाबी गर्दै, नाम, चुनाव चिन्ह आफूले पाउनुपर्ने भन्दै आरोप प्रत्यारोप गरिरहेका छन् । दाहाल-नेपाल समूहले आफ्नो पार्टी आधिकारिक रहेको प्रमाण स्वरूप २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको थियो ।

त्यस्तै, अर्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको केन्द्रीय कमिटीको नामावली पनि ओली पक्षले निर्वाचन आयोगमा बुझाएको थियो । ओली पक्षको केन्द्रीय कमिटी बैठकले मौजूदा केन्द्रीय कमिटीमा थप गरी १ हजार १ सय ९९ सदस्यीय आयोजक कमिटी विस्तार गरेको थियो ।

Comment


Related News

Latest News

Trending News