प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध जनता समाजवादी पार्टी, नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर २ आन्दोलन तयारी सम्बन्धी भेला गरेको छ ।
सप्तरीको तिलाठी– कोईलाडीस्थित जिरिया हटियामा बिहीबार आयोजित क्षेत्र स्तरीय भेलामा आगामी आन्दोलनको तयारी बारे छलफल गरेको हो । जनता समाजवादी पार्टी, नेपाल सप्तरीका अध्यक्ष एबम तिलाठी–कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको अध्यक्षतामा आयोजित भेलाको प्रमुख अतिथि बिनोद सिंह रहेका थिए । भेलामा केन्द्रिय सदस्य शैलेश चौधरी, दिपेन्द्र चौधरी, मुरली सिंह, अशोक यादवको उपस्थिति रहेको थियो । यसैगरी प्रदेश सदस्यहरु सत्य नारायण यादव, भिम बहादुर तामाङ, अमृत साफी, जिल्ला अध्यक्ष केदार यादव, अमरनाथ मण्डल, उपाध्यक्ष निरज मुक्ति लगायतका निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका विभिन्न गाउँ तथा नगरपालिकाका अध्यक्ष सहित नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
भेलाले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदम विरुद्ध वडा स्तरसम्म भेला तथा जनजागरण गर्ने लगायतका आन्दोलनका कठोर कार्यक्रम तय गर्न जनपरिचालन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिए ।



