संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको नेकपाको दाहाल–नेपाल पक्षले आज देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउँदैछ ।
संसद भंग गर्ने प्रधानमन्त्रीको निर्णयको विरोध गर्दै पुर्व घोषित कार्यक्रमअनुसार सवै जिल्लामार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको केन्द्रीय संघर्ष समितिका सचिव डा. विजयकुमार पौडेलले जानकारी दिनुभयो । विरोधपत्रका साथमा प्रधानमन्त्रीलाई संविधानको पुस्तक समेत दिने र राष्ट्रका नाममा क्षमायाचनासहित गलत कदम सच्चाउन अनुरोध गरिनेछ ।
गत पुस ५ गते सरकारले प्रतिनिधि सभा भंग गर्दै आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ । तर सरकारको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सबै राजनीतक दल तथा नागरिक समाजका अगुवाहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले संसद पुन सञ्चालन नभएसम्म आन्दोलनलाई जारी राख्ने जनाएका छन् ।


