अपडेट 
२०७७ पुष २७, सोमबार १६:१४

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोराना भाइरसविरूद्धको खोप ल्याउन सरकारले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिनुभएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले सम्बन्धित देशका सरकार र सम्बन्धित निकायसँग समन्वय गरेर खोप ल्याउन पहल गरिरहेको बताउनुभयो । छिमेकी मुलुकहरू सँगसँगै नेपालमा खोप आइपुग्ने भन्दै उहाले रूस, भारत र युएईका राजदूतहरुसँग आफूले खोप ल्याउने सम्बन्धमा कुरा गरेको बताउनुभयो । खोप खरिद प्रक्रिया पूर्ण पारदर्शी र वितरण न्यायपूर्ण हुने उहाले प्रष्ट पार्नुभयो ।

मन्त्री त्रिपाठीले पहिलो चरणमा तीन प्रतिशत स्वास्थ्यकर्मी, त्यसपछि ५५ वर्षभन्दा माथि उमेर समूहका वृद्धवृद्धा र अर्को २० प्रतिशत जनसंख्यालाई पहिचान गरी खोप वितरण गरिने जानकारी दिनुभयो । खोप अभियान सफल बनाउने, प्रत्येक पालिकामा ५, १० र १५ शय्याका अस्पताल बनाउने र कर्मचारी समायोजनको काम पूरा गर्ने उहाले बताउनुभयो ।

भ्याक्सिनका लागि १६ हजार खोपकेन्द्र परिचालन गरिने र ५ हजार कर्मचारीको व्यवस्था समेत उहाले बताउनुभयो । भ्याक्सिन ल्याउन कानुनी रूपमा जटिलता निराकरण गरिएको र अर्थले मन्त्रालयले रकम सुनिश्चितता गरेको उहाको भनाई छ । पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले स्वास्थ्य मन्त्रालयमा रिक्त रहेको एक जना सचिवको पद चाँडै पूर्ति गरिने बताउनुभयो । यसका लागि प्रक्रिया अगाडि बढाइने र छिटै नियुक्त गर्न तयारी भइरहेको उहाको भनाई छ ।

Comment


Related News

Latest News

Trending News