अपडेट 
२०७७ पुष २८, मंगलवार ०७:३८

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति एवम् पुर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले निर्वाचनको लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

उनले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकोले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने निर्णय लिए कांग्रेस चुनावमा जान तयार रहेको बताए । नेपाली काँग्रेस धनुषाले सोमबार आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति निधिले संघीय लोकतान्त्रिक गणतन्त्र र संबिधानको रक्षा गर्न पनि निर्वाचनमा भाग लिनुपर्ने तर्क गरे । निर्वाचनको विरोध गर्नु भनेको अज्ञानता र अपरिपक्वता मात्र रहेको उनले थपे । उनले अदालतबाट पुर्नस्थापना वा निर्वाचन मात्र अहिलेको विकल्प रहेको बताए । देश र जनतालाई प्रतिनिधिसभा चाहिएको छ, उनले भने–‘त्यसको संवैधानिक उपाय भनेको संसद पुर्नस्थापना वा निर्वाचन मात्रै हो, कांग्रेस दुबै विकल्पको लागि तयार छ ।’ उनले गणतन्त्र र संघीयता उल्टाउने कोसिश गर्नेहरू आफै परास्त हुने तर्क गरे । उनले नेपालमा अब राजतन्त्र कहिल्यै नफर्किने बताउँदै राजतन्त्रको सपना हेर्नेहरुलाई यस्ता दिवा स्वप्न नहेर्न आग्रह आग्रह समेत गरे ।

नेता निधिले कम्युनिष्टहरु लोकतन्त्र विरोधी रहेकोले कम्युनिष्ट सरकारले राज्यको शासकीय संरचना माथि नै धावा बोलेको बताए । उनले कम्युनिष्टहरु संघीय लोकतन्त्र र गणतन्त्रका विरोधी भएको भन्दै उनीहरु माथि कुनैपनि हालतमा विश्वास गर्न नसकिने बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेको नेता निधिले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले अधिनायकवादी र वर्चश्ववादी कदम उठाएको भन्दै उनले निरन्तर यस कदमको विरोधमा जुट्न सबैलाई आग्रह गरे । कार्यकर्ता भेलामा पूर्वमन्त्री रामकृष्ण यादव, पूर्व सांसद दिनेश प्रसैला, जिल्ला सभापति महेशशंकर गिरी, उपसभापति संतोष यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News