अपडेट 
२०७७ माघ ३, शनिबार ०८:०५

देशका धेरै ठाउँमा मौसम बद्ली भएको छ । तराईमा शीतलहरको जोखिम बढ्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

झण्डै एक हप्तादेखि तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको र शीतलहरको सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । यो वर्ष तराईमा अहिलेसम्म शीतलहर परेको छैन । तर, हुस्सु र कुहिरो भने लागिरहेको छ । हुस्सु र कुहिरो निरन्तर रहेमा शीतलहरको सम्भावना बढ्ने मौसमविद् नगरकोटीको भनाइ छ । धेरै दिनदेखि तराईमा घाम नलाग्दा जनजीवन प्रभावित भएको छ । पूर्वी र मध्य तराईका जिल्लामा हुस्सु र कुहिरो उस्तै रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । पश्चिमी तराईका जिल्लाहरुमा भने हिजो अस्तिको तुलनामा हुस्सु र कुहिरो हट्दै जान थालेको छ ।

बालबालिका र वृद्धवृद्धा चिसोबाट बढी प्रभावित भएका छन् । दैनिक ज्याला मजदूरी गरेर खानेहरुलाई घराबाहिर निस्कन समस्या भएको छ । काठमाण्डौमा पनि कुहिरो निरन्तर लागिरहेको छ । कुहिरो तत्काल हटेर जाने सम्भावना नरहेको मौसमविद् नगरकोटीले बताउनुभयो । आउँदो तीन दिनसम्म नै मौसमी प्रणाली हिजो अस्तिको जस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु नेपाल प्रवेश गरेमात्रै देशका विभिन्न ठाउँमा लागेको कुहिरो हटेर जानेछ । अहिलेसम्म पश्चिमी मौसमी प्रणाली नआएकाले देशका धेरै ठाउँहरुमा निरन्तर कुहिरो लागिरहेको मौसमविद् नगरकोटीले बताउनुभयो । देशका धेरै ठाउँहरुमा अहिले बादल लागेको छ । प्रदेश एकका केही ठाउँमा पानी पर्ने सम्भावना छ । आज राति पनि प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । अझै केही दिन मौसममा सुधार नआउने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । 

Comment


Related News

Latest News

Trending News