अपडेट 
२०७७ माघ ६, मंगलवार ०७:५६

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति नेपालमा पनि देखिएकोछ ।

सरकारी तथ्यांक अनुसार नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना सङ् क्रमण पुष्टि भएको जनाएकोछ । कोभिड–१९ को नयाँ प्रजाति भेरियन्टको उद्गमस्थल बेलायतबाट केही समयअघि नेपाल आएकालाई निगरानीमा राखिएकोमा परीक्षणको क्रममा तीनि जनामा नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकोछ । निगरानीमा रहेका मध्ये छ वटा नमूनाको सार्स कोभ–दुईको परीक्षण गर्दा नेपालमा तीन नमूना एस जीन टार्गेट नेगेटिभ पाइएको मन्त्रालयले जनाएकोछ । नयाँ प्रजातिको सङ्क्रमण हो कि होइन भनेर पुष्टि गर्न गत पुस २७ गते उनीहरुको नमूना विश्वस्वास्थ्य सङ्गठनको सहयोगमा हङकङ पठाइएकामा तीन नमूनामा सो प्रजाति पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए ।

‘इमेलबाट सोमवार सो नमूनाको नतिजा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई प्राप्त भएको छ’ डा.गौतमले भने, “तीन जनामा बेलायतमा देखिएको नयाँ भेरियन्ट लाइनएज बि १.१.७ तथा २० बि/५०१ वाई भी वान भएको पुष्टि भएको छ ।” उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा कोरोना नेगेटिभ भइसकेको छ भने ६७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिए पनि कुनै लक्षण भने नदेखिएको डा.गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा कोरोनाको भ्याक्सिन उपलब्ध नहुञ्जेलसम्म उच्च सावधानी अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ । “सकेसम्म भीडभाडमा नजाने, जानु परे पनि दुई मिटरको दूरी कायम राख्ने, बाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउने र साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु नै मुख्य रोकथामको उपाय भएको डा.गौतमले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Comment


Related News

Latest News

Trending News