अपडेट 
२०७७ माघ ८, बिहीबार ०७:३४

जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्टसमार्फत सपथ ग्रहण गर्दै राष्ट्रपति बाइडेनले पदभार ग्रहण गर्नुभएको हो । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिको सपथ ग्रहण गर्नुभएको छ।  उहाँलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले सपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहणपछि बाइडेनले अमेरिकाले डर नभएर आशाको इतिहास बनाउने दाबी गर्नु भयो ।  कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडेनले कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोशिस गर्नुभएको छ । कार्यभार सम्हालेको केही घण्टाभित्रै उहाँले जारी गर्नुभएका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ  । 

अहिले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय आफूहरुसँग नभएको भन्दै उहाँले कोरोना भाइरस महामारीको सङ्कट समाधानका लागि आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ । यस्तै उहाँले जारी गर्नुभएको अन्य आदेशहरूले विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिने विभिन्न संचारमाध्यमले जनाएका छन् ।  यसैबीच, लामो समयदेखिको परम्परालाई तोड्दै नयाँ राष्ट्रपतिको स्वागत समारोहमा सहभागी नभएर ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बाहिरिनु भएको छ । 

यसअघि नयाँ राष्ट्रपतिलाई निवर्तमान राष्ट्रपतिले स्वागत गर्दै आफूले ह्वाइट हाउस छोड्ने परम्परा रहँदै आएको थियो । उहाँ आफ्नी श्रीमतीसहित हेलिकप्टरमा चढेर फ्लोरिडा जानु भएको हो। निकै प्रतिस्पर्धात्मक भएको चुनावमा धाँधली भएको भन्दै ट्रम्पका समर्थकहरु आक्रमणमा समेत उत्रिएका थिए । 

Comment


Related News

Latest News

Trending News