अपडेट 
२०७७ माघ ९, शुक्रबार ०७:१४

चिनी उद्योगीबाट ठगिदै आएका उखु किसानहरुलाई सरकारलेपनि धोका दिएकोछ ।माघ ५ गते भित्र उखु किसानको सम्पूर्ण बक्यौता रकम भुक्तानी गराउन सरकारको तर्फबाट उद्योग मन्त्रीले गरेको प्रतिबद्धता कार्यान्वयन नभएपछि किसानहरु फेरी संघर्षमा उत्रने घोषणा गरेका छन् ।

सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन नसकेको भन्दै संघर्षको कार्यक्रम घोषणा गरेका छन् ।सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि रकम भुक्तानी भएको छैन् ।
यस वर्ष पनि पुसको जाडोमा माइतीघर मण्डला अगाडि पुसमा किसानहरुले आन्दोलन गरेका थिए । सरकारले किसानसँग २१ दिनभित्रमा बक्यौता रकम भुक्तानी दिलाइदिने गरी सम्झौता भएको थियो । तर किसानले अहिलेसम्म पनि पूरै भुक्तानी पाउन सकेका छैनन् ।

उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरेपनि भुक्तानी हुन नसकेको भन्दै उखु किसान संघर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसकेको जनाएको भएपनि यसमा शंका रहेको संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

किसानले भुक्तानी पाउनुपर्ने यकीन रकमका विवरण उद्योग र उद्योगीसँगै रहेकोले सो अनुसारको किसानको सम्पूर्ण रकम किसानको खाता मार्फत भुक्तानी गरिसकेको विश्वसनीय एवं स–प्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आन्दोलन अनुसार माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने तय गरिएको छ । त्यसपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र किसान रामविकास पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्त पुस १३ गते सरकारसित किसानले गरेको सम्झौता धोका भएको भन्दै तनावमा रहेका एक जना किसानको सो ही राती ह्रदयघात भएर मृत्यु भएको थियो ।
जिल्लामा सञ्चालित तीन चिनी मिलमध्ये दुईले गत वर्षसम्मको सम्पूर्ण रकम भुक्तानी गरिसकेका छन् । तर धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले भने किसानलाई तिर्न बाँकी १७ करोडमध्ये ११ करोड ४७ लाख रकम किसानको खातामा हालिसकेको बताइएको छ । उद्योगीको खातामा करिब दुई करोड रहेको भए पनि सञ्चालक सम्पर्कमा नरहेकाले किसानको खातामा मात्र हाल्न मिल्ने गरी राष्ट्र बैंकमार्फत सर्कुलर जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘किसानलाई भुक्तानी गरिएको र बैंकमा जम्मा रहेको रकम दुवैलाई हेर्दा किसानले अझै पनि पूरा रकम पाउन सक्ने अवस्था छैन् ’ प्रजिअ पौडेलले भने, उद्योगीले उखु खरिद गरेवापत किसानलाई अझै पनि तीन करोड ५३ लाख तिर्न बाँकी रहेको देखिएको छ ।

यसरी सरकारले किसानलाई प्रत्येकपटक आन्दोलन गर्दा उद्योगीबाट रकम उपलब्ध गराउने आश्वासन दिने गरेको भए पनि सम्झौताअनुसार आफूहरूले भुक्तानी नपाएको नेपाल उखु उत्पादक महासङ्घ सर्लाहीका अध्यक्ष कपिलमुनी मैनालीले बताए । ‘सरकार र उखु उत्पादक किसानबीच पटक–पटक सम्झौता हुने तर उक्त सम्झौता कार्यान्वयन नहुँदा किसानमा निराशा छाउन थालेकोछ’ अध्यक्ष मैनालीले भने, यसबाट सरकारप्रतिको विश्वसनीयता कम हँुदै गएकोछ ।

उखु बिक्रीवापतको भुक्तानी दिलाइदिन माग गर्दै प्रत्येक वर्ष किसान काठमाण्डुको माइतीघरमा गएर गर्मी जाडो केही नभनी आन्दोलन गर्ने गरेका छन् । किसानलाई भुक्तानीका लागि प्रत्येक वर्ष सास्ती खेपाउनुभन्दा सरकार आफैँ जवाफदेही भएर बाँकी बक्यौता भुक्तानीमा सहजीकरण गरिदिनुपर्ने मैनालीको कथन छ ।

स्थानीय प्रहरी प्रशासनको प्रयासमा धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले आठ करोड रकम किसानको खातामा हालिसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए । हरिवन नगरपालिका–११ को इन्दुशङ्कर चिनी उद्योगले चालु सिजनमै खरिद गरेको उखुको भुक्तानी दुई चरणमा गरी करिब रु २० करोड भुक्तानी गरिसकेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । करिब सात लाख २० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगले भुक्तानीलाई पनि निरन्तरता दिएको छ ।

Comment


Related News

Latest News

Trending News