अपडेट 
२०७७ माघ ११, आईतवार ०८:३८

प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह ‘बी’ का दुई खेल हुँदैछन् । मुलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ भने कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा प्रदेश २ र सुदूरपश्चिमबीच खेल हुनेछ ।

यसअघि लगातार तीन खेल जित्दै अपराजित रहेको बागमती सेमिफाइनल नजिक छ । तर सेमिफाइनलमा स्थान पक्का भने भइसकेको छैन । त्यसैले लुम्बिनीलाई पराजित गरेमा बागमतीले अन्य खेलको नतिजा पर्खनुपर्ने छैन र समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुग्नेछ । पहिलो खेलमै साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको बागमतीले त्यसयता सुदूरपश्चिम र प्रदेश २ लाई पराजित गरेको थियो । ३ खेलबाट ६ अंकसहित बागमती समूहको शीर्ष स्थानमा छ । उता लुम्बिनीले भने सेमिफाइनल होड कायम राख्न बागमतीलाई हराउनैपर्ने छ र पुलिस र प्रदेश २ बीच हुने अन्तिम खेलको नतिजा पनि पर्खनुपर्ने छ । प्रदेश २ लाई पहिलो खेलमा पराजित गरेको लुम्बिनी दोस्रो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो । तेस्रो खेलमा सुदूरपश्चिमलाई पराजित गरेको लुम्बिनीको ३ खेलबाट ४ अंक छ ।

यस्तै लगातार तीन खेल हार्दै समूह चरणबाट बाहिरिसकेको सुदूरपश्चिम अन्तिम खेललाई सुखद बनाउन चाहन्छ । प्रदेश २ ले पनि अहिलेसम्म खेलेका दुई वटै खेल हारेको छ । त्यसैले दुवै टोली पहिलो जितको खोजीमा छन् । प्रदेश २ ले समूहको अन्तिम खेल पुलिससँग खेल्नेछ । समूह ‘ए’ बाट यसअघि नै दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

Comment


Related News

Latest News

Trending News