अपडेट 
२०७७ माघ १२, सोमबार ०८:१९

नेपाल (दहाल–नेपाल) समुहले केपी शर्मा ओलीलाई कार्बाहि गर्दे पार्टी सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

पार्टीको नीति विपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए । ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएको थियो । तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टीको सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकै दिन पुस ५ मा बसेको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले ओलीमाथि पार्टी अनुशासनको कारबाही अगाडि बढाउने निर्णय गरेको थियो । पुस ७ को केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई ल्याएको थियो । नेकपाको अन्तरिम विधानको धारा ५६ ले अनुशासनको कारबाही गर्ने व्यवस्था छ । उक्त धाराको (क) मा १४ वटा विभिन्न काम गरे अनुशासनको कारबाही गर्न सकिने उल्लेख छ ।

पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टीभित्र गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय उल्लंघन गरेको, पार्टीप्रति निष्ठा र विश्वास नरहेको, गोपनीयता भंग गरेको अवस्थामा अनुशासनको कारबाही गर्ने व्यवस्था छ । विधानको धारा ५६ को (ख) मा अनुशासनात्मक कार्बाही र कार्बाहीको प्रक्रियाबारे उल्लेख छ । नेकपा स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय कार्यालय सचिवमा गंगालाल तुलाधर र उपसचिवमा मोहन गौतमलाई थप्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्री ओलीको संसद् विघटन विरुद्धको यसअघि संचालित संघर्षका कार्यक्रम र माघ ९ गतेको विरोध प्रदर्शन सफल भएको निष्कर्ष निकालेको श्रेष्ठले बताए ।

दहाल–नेपाल समुहले सोमबार फेरि दोस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । पार्टीको प्रदेश, जिल्ला, जनवर्गीय संगठनलगायतमा रिक्त पदमा पदाधिकारीहरुको चयन र अन्य सांगठनिक एकीकरणका काम टुंगाउने जिम्मा सचिवालय दिने निर्णय गरेको छ ।

Comment


Related News

Latest News

Trending News