अपडेट 
२०७७ माघ १५, बिहीबार ०८:३८

कोरोना विरुद्धको अभियान अन्तर्गत प्रदेश २ मा बुधबार ७ सय ३३ जनालाई खोप लगाईएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो दिन प्रदेशका ८ जिल्लामा ७ सय ३३ जनालाई खोप लगाईएको हो ।

धनुषामा १ सय २, महोत्तरीमा ३७, सर्लाहीमा १ सय २९, रौतहटमा २६, बारामा ७०, पर्सामा १ सय १३, सिरहामा १ सय १०, सप्तरीमा १ सय ४६ गरि ७ सय ३३ जनालाई खोप लगाईएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले बताए । खोप लगाउनलाई प्रादेशिक अस्पताल जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, कलैया अस्पताल, गौर अस्पताल, मलंगवा अस्पताल, जलेश्वर अस्पताल, सप्तरीका गजेन्द्रनारायण सिंह अस्पताल, प्रादेशिक प्रहरी अस्पताल र सिरहा अस्पतालमा बुथ राखि कोरोना विरुद्धको खोप लगाईएको निर्देशक झाले बताए ।
संघीय सरकारले प्रदेश सरकारलाई उपलब्ध गराएको ३४ हजार डोज एक सप्ताहमा लगाउने झाले बताए । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रादेशिक अस्पताल जनकपुरमा खोप लगाएर अभियानमा सहभागी भए । मन्त्री यादवले कोरोना विरुद्धको खोपको विषयमा विभिन्न अफवाह सर्वसाधारणमा रहेकोले आफुले नै पहिलो खोप लगाएको बताए ।

आठै जिल्लामा कोरोना विरुद्धको खोप कार्यक्रम शुभारम्भ

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत नर्स हेमा थापाले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना खोप लगाएर शुभारम्भ गर्न पाउदा दंग थिए ।
कोभिडको त्रास फैलिएको बेला पहिलो पटक खटेको टीममा सामेल भएकी एनआईसियू वार्डकी इन्चार्ज नर्स थापा विश्वभरी नै फैलिएको माहामारीमा खट्दा डरेकी थिएन । तर, मुख्यमन्त्रीलाई बुधबार भ्याक्सिन लगाउन पाउदा खुसि व्यक्त गरे ।
कोरोनाको त्रासले काम गर्दा मन त्रसित हुदापनि कोभिड खोप लगाउन पाउदा खुशी छु, थापाले भनिन,खोप लगाएपछि डर भन्दा खुसी छु । कुनै साईड ईफेक्ट महशुश भएको छैन ।’ साधारण औषधी खादा त साईड ईफेक्ट भएपनि कोभिड भ्याक्सिनको कुनै ईफेक्ट नभएको उनले अनुभव सुनाए । नडराईकन कोभिड भ्याक्सिन लाउन उनले अग्रह गरिन् ।
कोभिड भ्याक्सिन लगाएका वीरगंज उपक्षेत्रीय अस्पतालका डा. निरज सिंहले खुसी व्यक्त गर्दै अभियानमा सहभागि हुन आग्रह गरे । वरिष्ठ कन्सल्टेन्ट डा. सरोज सिंहले कोभिड भ्याक्सिन लगाउदा डराउने अवस्था नरहेको बताउदै खोप बारे फैलिएको भ्रममा नपर्न आग्रह गरे ।
खोप बारे भारत, नेपाल लगायतका देशमा विभिन्न भ्रम तथा अफवाह फैलिएको छ । खोप कार्यक्रममा भेटिएका वीरगंजका अलि असलमले भ्याक्सिन आईसकेपछि खुशीसंगै त्रास पनि फैलिएको बताए ।
प्रदेश २ अन्तर्गतको पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिरहा र सप्तरीमा बुधबारदेखि एकै साथ कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ । नारायणी अस्पतालको खोप केन्द्रमा मुख्यमन्त्री लालबाबु राउतले खोप लगाएर अभियान आरम्भ गरेका थिए ।
खोपले कोरोनाविरुद्ध लड्नका लागि थप साहस मिलेको बताए । ‘कोरोनाले त्रसित र भयभित थियौं, त्यो समयमा अग्रपंक्तिमा खटिनेहरुले साहस देखाएर काम गर्नुभयो’ मुख्यमन्त्री राउतले भने, ‘अहिले भारत सरकारको सहयोगमा भ्याक्सिन प्राप्त भएको छ । यसले थप साहस र हिम्मत बढेकोे छ । ’
पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक र शव व्यवस्थापनमा खटिनेहरुलाई कोरोना विरुद्धको खोप लगाईने छ । पहिलो चरणको लागि प्रदेश २ का ३४ हजार ८ सय ४ डोज कोरोना भ्याक्सिन प्राप्त भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक झाले बताए ।
कोभिड–१९ विरुद्धको खोप अभियानको प्रदेश नं २ का ८ वटै जिल्लामा एकैसाथ सुरुवात गरिएको छ । पर्सामा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, बारामा कलैया अस्पताल, रौतहटको गौर अस्पताल, सर्लाहीको मलंगवा अस्पताल, महोत्तरीको जलेश्वर अस्पताल, जनकपुरको प्रादेशिक अस्पताल, सिराहा अस्पताल, सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल र रुपनीस्थित प्रहरी प्रादेशिक अस्पतालमा गरी ९ वटा अस्पतालमा खोप अभियान सुरु गरिएको हो ।
संघीय सरकारले प्रदेश २ मा ३४ हजार ८ सय ४ थान खोप पठाएको छ । पर्सामा ४ हजार ९ सय ७१, बारामा २ हजार ३ सय ९५, रौतहटमा ३ हजार ६ सय ९, सर्लाहीमा ४ हजार ७ सय ७२, महोत्तरीमा २ हजार १ सय ९१, धनुषामा ९ हजार १ सय ८२, सिराहामा ३ हजार ९ सय ३० र सप्तरीमा ३ हजार ७ सय ७५ थान खोप पठाईएको खोप अभियानका प्रदेश २ संयोजक डा. मदन उपाध्यायले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News