विभिन्न आन्दोलनका शहीदहरुको आज सम्झना गरिँदैछ ।
मुलुकमा प्रजातन्त्र, बहुदलीय व्यवस्थादेखि गणतन्त्रसम्म विभिन्न शहीद छन् । तर गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई मुख्य शहीद मान्ने गरिएको छ । प्रजातन्त्रको लागि सक्रिय रहँदा यी चारै जनालाई राणा शासकले १९९७ सालमा हत्या गरेका थिए । मुलुकमा प्रजातन्त्र ल्याउन सक्रिय भएकै कारण राणा शासकले १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकूस्थित पचलीमा हत्या गरिएको थियो । धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा हत्या गरिएको थियो । गंगालाल श्रेष्ठ तथा दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा हत्या गरिएको थियो ।
प्रजातन्त्र आएपछि यी चारै जनाको सम्झनामा माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । विगतमा जस्तै यस वर्ष पनि शहीदको सम्झनामा १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम भइरहेको छ । आज शहीदका शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि अपर्ण गरिनेछ । शहीद दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टाछुट्टै स्मरण सन्देश दिनुभएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले पनि शहीदको त्यागकाे स्मरण गर्नुभएको छ ।
शहीदलाई वर्षमा एक पटक सम्झिने गरिएको छ । तर उनीहरूको सपना साकार हुन सकेको छैन । हरेक सरकारले शहीदले देखाएको मार्ग पहिल्याउन नसकेको अनुभूति भइरहेको छ । शहीदका परिवारले समेत उचित सम्मान पाएका छैनन् । कतिपय शहीदका परिवारको अवस्था दयनीय छ ।