अपडेट 
२०७७ माघ १८, आईतवार १८:५८

धनुषा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीले सर्वसाधारणको मोटरसाइकल चोरी गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको छ ।

१७ माघमा सशस्त्र प्रहरी जवान मिथिलेश यादवको ज ८ प ८७७५ नम्बरको अपाची मोटरसाइकल क्षिरेश्वरनाथ नगरपालिका-५ बाट चोरी भएपछि त्यसको खोजीमा जुटेको प्रहरीले गिरोहलाई नै समातेको हो । पक्राउ पर्नेमा सिराहाको बिष्णुपुर गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रमोदकुमार यादव, २२ वर्षीय मनोजकुमार यादव, वडा नम्बर ३ बस्ने २१ वर्षीय रोहितकुमार यादव, २३ वर्षीय जितेन्द्रकुमार यादव र धनुषाको सबैला नगरपालिका-४ बस्ने २० वर्षीय अमरेन्दकुमार यादव छन् । यसमध्ये जितेन्द्र चोरिएको मोटरसाइकल खरिद गर्ने व्यक्ति हुन् ।

सशस्त्र प्रहरी जवान मिथिलेशको चोरिएको ज ८प ८७७५ नम्बरको मोटरसाइकलसहित प्रहरीले रोहितलाई क्षिरेश्वरनाथ नगरपालिका-९ स्थित जलाद खोला हुँदै जाने क्रममा पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि अन्य ३ वटा मोटरसाइकल पनि उसैले चोरी गरेको खुल्यो । रोहितकै बयानका आधारमा ज १२ प ६११८ नम्बरको २ सय सीसीको पल्सर, स ७ प ५२०३ नम्बरको डिस्कभर र को ३२ प ७६४ नम्बरकमे स्प्लेन्डर मोटरसाइकल प्रहरीले बरामद गर्‍यो । रोहितले क्षिरेश्वरनाथ नगरपालिका-५ मा भाडामा लिएको कोठाबाट चोरीका मोटरसाइकल बरामद भएको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए । रोहितले लक गरिएका मोटरसाइकल समेत चोरी गर्ने गरेको पाइएको उनले बताए । उनको कोठाबाट मोटरसाइकल चोरीमा प्रयोग हुने उपकरण समेत बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै प्रमोद र अमरेन्द्रको साथबाट स ४ प ५७४६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद भएको छ । धनुषाको महेन्द्रनगरबाट चोरी भएको ना ३९ प ६३८२ नम्बरको मोटरसाइकलसहित मनोजलाई पक्राउ गरिएको छ । यो मोटरसाइकल किन्ने जितेन्द्रलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेकाहरूलाई आइतबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News