अपडेट 
२०७७ माघ २०, मंगलवार ०८:०१

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको सोमबार सम्पन्न खेलमा वडा नं. ४ कोइलाडीले वडा नं.२लौनियाँलाई ३० रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

यसैगरी दोस्रो खेलमा वडा नं. ३ सकरपुराले वडा नं.७ मन्सापुरलाई ६५ रनले पराजित गरेको छ । बाक्लो कुहिरो लागेको हुँदा १३ ओभरमा छोट् याइएको पहिलो खेलमा टस जितेर ब्याटिङ गर्दै कोइलाडीले निर्धारित १३ ओभरमा ७ विकेट गुमाई ७५ रन बनाएको थियो । जसमा जितेन्द्र पासमानले सार्वधिक १८, रिषभ सिंहले १३ तथा जुगनु मण्डलले १२ रनको योगदान दिएका थिए । लौनियाँका लागि दिनेश कुमार मण्डलले सर्वाधिक ३ विकेट, शिव सुन्दर मण्डलले २ तथा अजय मण्डल र दिलीप मण्डलले १/१ विकेट लिए । ७६ रनको लक्ष्य पछ्याएको लौनियाँ १२ ओभर २ बलमा सबै विकेट गुमाई ४५ रन मात्र बनाउन सक्यो । लौनियाँका भगवानदेव मण्डलले अविजित रहँदै २५ रन बनाए । अन्य ब्याट्सम्यान भने दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । कोइलाडीका लागि जुगनु मण्डलले घातक बलिङ गर्दै ३ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए भने जयराम मण्डलले २ तथा अक्षय मण्डलले १ विकेट लिए ।

उक्त खेलमा कोइलाडीका जुगनु मण्डललाई गाउँपालिकाका कार्यक्रम अधिकृत तथा प्रतियोगिता संयोजक राजेश कुमार झाले म्यान अफ द म्याच ट्रफी प्रदान गरे । यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको वडा नं. ३ सकरपुराले २० ओभरमा ६ विकेट गुमाई १३२ रन बनाएको थियो । जसमा अमित मण्डलले विष्फोटक ब्याटिङ गर्दै ७ चौकाको मद्तले ४७ बलमा ६३ रन बनाएका थिए । यसैगरी प्रदीप मण्डलले २८ र अभय मण्डलले १३ रनको योगदान गरे । मन्सापुरका लागि सुबोध मण्डलले २ तथा अजय मरिक र धिरज मण्डलले १/१ विकेट लिए । जितको लागि १३३ रनको लक्ष्य पाएको मन्सापुरले १६ ओभर ४ बलमा सबै विकेट गुमाई ६७ रन मात्र बनाउन सक्यो । मन्सापुरका लागि रोशन मण्डल र महेश मण्डलले समान १६/१६ रन तथाउमेश मालीले १० रन बनाउनु बाहेक कुनै पनि खेलाडी दोहोरो अंक मा प्रवेश गर्न सकेनन् ।

सकरपुराका लागि श्यामदेव मण्डल र प्रदीप मण्डलले समान ३/३ विकेट लिए भने सुरज मण्डलले १विकेट लिए । उक्त खेलमा सकरपुराका प्रदीप मण्डललाई गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले म्यान अफ द म्याच ट्रफी प्रदान गरे । प्रतियोगिता अन्तर्गत मंगलबार वडा नं. ६को. मधेपुरार वडा नं. ८तोपाबीच पहिलो खेल तथा दोस्रो खेल वडा नं. १तिलाठी र वडा नं. ५को. बर्साइनबीच हुने प्रतियोगिता संयोजक राजेश कुमार झाले बताए । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।

Comment


Related News

Latest News

Trending News