अपडेट 
२०७७ माघ २२, बिहीबार ०८:०१

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी–२० क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ४ कोइलाडीले हात पारेको छ ।

साबिक विजेता कोइलाडीले वडा नं. ३ सकरपुरालाई २१ रनले पराजित गर्दै लगातार दोस्रो बर्ष उपाधी हात पारेको हो । माघ १० गतेदेखि सुरु भएको प्रतियोगिताको तेस्रो संस्करणको बुधबार सम्पन्न फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको वडा नं. ४ कोइलाडीले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाई १२५ रन बनाएको थियो । जसमा कप्तान मो. गुड्डुले २९, परमेश्वर मण्डलले २८, रोबिन सिंहले १५, रोहित सिंहले १४ तथा रोशन मण्डलले अविजित ११ रनको योगदान गरेका थिए । सकरपुराको लाागि साकेत सिंहले ४ ओभरमा १९ रन दिई ३ विकेट लिए भने प्रदिप मण्डल र सुरज मण्डलले समान १÷१ विकेट लिए । जितको लागि १२६ रन पछ्याएको सकरपुरा टिम २० ओभरमा ५ विकेट गुमाई १०४ रन मात्र जोड्न सक्यो । सकरपुराका लागि साकेत सिंहले २ छक्का र २ चौकाको मद्तले अविजित ३५ रन बनाए भने, अमित मण्डलले २८ र सुरज मण्डलले २३ रनको योगदान दिएका थिए ।

कोइलाडीका लागि रोशन मण्डलले २ तथा जुगनु मण्डल र रोहित सिंहले समान १/१ विकेट लिंदै आफ्नो टिमलाई जित दिलाए । उक्त खेलमा कोइलाडीका रोशन मण्डललाई म्यान अफ द म्याच प्रदान गरियो । प्रतियोगितामा वडा नं. ५ को. बर्साइनका दिपेश सरदार म्यान अफ द सिरिज, सकरपुराका अमित मण्डल वेस्ट ब्याटस् म्यान, कोइलाडीका जुगनु मण्डल वेस्ट बलर तथा को. बर्साइनका राजेश रजकलाई इमर्जिड्ड प्लेयरको ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत तथा प्रतियोगिता संयोजक राजेशकुमार झाले बताए । प्रतियोगिता समापनको अवसरमा गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, उपाध्यक्ष सुचिता कुमारी यादव, वडा अध्यक्षहरु मनोज चौधरी, गोपी मण्डल, राजेन्द्र साह र गुलाब सिंह, कार्यपालिका सदस्यद्वय दामोदर मुखिया र रिता साह, सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, पूर्व खेलाडी राजकुमार दाससहितले विजेता, उपविजेतालाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

Comment


Related News

Latest News

Trending News