अपडेट 
२०७७ माघ २३, शुक्रबार १७:३५

कोरोनाका कारण संकटमा परेको पर्यटन क्षेत्र र व्यवसायलाई उकास्ने उद्देश्यका साथ प्रदेश २ स्तरिय अभियान शुक्रबारदेखी सप्तरीबाट सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड तथा आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश २ को संयुक्र आयोजनामा सप्तरीको पर्यटकीय स्थल कंचनरुप नगरपालिका वडा नं. ११ स्थित डेगंरीबाट उक्त अभियान सुरु भएको हो । प्रदेश २ स्तरिय परिचयात्मक भ्रमण कार्यक्रम नाम दिइएको सो अभियानको सुरुवात गर्दै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले पर्यटन क्षेत्रको अवस्था सुधारका लागि प्रदशे सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, पर्यटन क्षेत्र र यस सँग सम्बन्धीत होटल तथा व्यवसायहरुको कर मिनाहादेखी बैंकबाट सरल तरिकाले कर्जा उपलब्ध गराउने सम्मका सहयोग पनि गर्न तयार छौं, तपाईहरु कार्यक्रम बनाएर ल्याउनुस् । होटल पर्यटन व्यवसाय तथा सरोकारवालाको उलेख्य सहभागितामा सुरु भएको कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्राले छोरीलाई विवाहको बेलां सिगारिने जस्तै पर्यटकीय स्थलको पहिचान गरि उक्त स्थलहरुलाई सिंगारिन सके मात्र पर्यटकीय क्षेत्र र त्यससँग आवद्ध व्यवसायको विकास सम्भव हुने तर्क प्रस्तुत गरे ।

नेपाल पर्यटन बोर्डका अधिकृत सागर श्रेष्ठले सप्तरीबाट सुरु भएको अभियान प्रदेश २ का ८ वटै जिल्लामा पुग्ने जानकारी दिए । अभियानमा सम्मिलत टोली ८ वटै जिल्लाको पर्यटकीय स्थलमा पुगि पर्यटकीय स्थलको भ्रमण, वृत्तचित्र निर्माण र प्रचारप्रसारमा खट्ने कार्यक्रम तय रहेको बताउँदै उनले यसबाट पर्यटकीय क्षेत्रको विकास र बढी भन्दा बढी पर्यटक भित्राउन मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे । आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश २ का सहसंयोजक विष्णु साहको अध्यक्षतामा आयोजित कार्यक्रममा भ्रमण टोलीका संयोजक मोहन शर्मा लामिछाने, सदस्य शैलेश चौधरी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव लगायतले पनि बोल्दै पर्यटन क्षेत्र र यसमा आवद्ध व्यवसायको विकास र संरक्षणका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।

Comment


Related News

Latest News

Trending News