अपडेट 
२०७७ माघ २७, मंगलवार ०७:३२

एकजना माक्र्सवादी विचारक एन्तोनियो ग्राम्सीले समाजमा विशेष गरेर शहरी (नागरीय) समाजलाई दुई भागमा विभाजित गरेको छ – राजनीतिक समाज र नागरिक समाज । राजनेता, मन्त्री, जनप्रतिनिधि, सुरक्षाअधिकारीहरु र कर्मचारीतन्त्र राजनीतिक समाज, र बौद्धिक समुदायहरु शिक्षक, प्राध्यापक, डाक्टर, इन्जिनियर, साहित्यकार, कलाकार, अभिनेता, चित्रकार आदि नागरिक समाजभित्र पर्छन् । सामान्य बुझाई राज्यसत्ता भनेको सरकार मात्रै हो । तर यस्तो होइन, राज्यसत्तामा सरकार, संसदभित्रका विपक्षीदलहरु र सुरक्षातन्त्र र कर्मचारीतन्त्र समेत हुनेगर्छ । सामान्यतः हामी सरकार र प्रतिपक्षीदलहरु राज्यसत्ताका सञ्चालक हुन्छन् भन्ने बुझ्यौँ भने ठिक हुनेछ । संसदिय राजनीति एउटा म्युजिक चेयरको खेल जस्तो हो, जस्मा कुनै बेला एउटा हुन्छ, भने मौका पाउना साथ पहिलोलाई धेकेलेर अर्कौ त्यस कुर्सीमा विराजमान हुनेगर्छ । यस खेलमा खेलाडीहरु कुर्सीमा बस्नका निम्ती एक–आपसमा घेकेलाधकेल गरेपनि त्यस खेलको विरुद्धमा कोही हुँदैन । यस खेलमा कसैले झेली गरेपनि प्रतिपक्षीको विरोध झेली गर्नेको विरोधसम्म मात्र सीमित हुने गर्छ ।

कहिलेकाँही कोही झेली गरेर कुर्सीमा बसेमा र अरु प्रतिस्पर्धी वा दर्शकले एक पटकलाई ‘भै गो नि त’ भनेर सम्झौता गराई दिए सबै ठिक हुँदो रहेछ र अर्कोले खेलमा यस्तै मौकाको खोजी गर्न थाल्छ । हाम्रो देशको वर्तमान संसदिय राजनीतिको खेल यस्तै यस्तै देखिएको छ । प्रम केपी ओली यस्तै खेलमा सम्विधानको नियममा झेली गरेर कुर्सीमा कब्जा गरेर बसेका छन् र राजनैतिक, न्यायिक र नागरिकसामाजिक रुपमा आफ्नो झेलीलाई मान्य गराउन अनेक कसरत गरीरहेको देखिन्छन् । अर्कोतर्फ सत्ताभित्र अहिले मुख्य प्रतिपक्षको रुपमा देखिएको उनको आफ्नै पार्टीको बहुमत हिस्सा बहुमतिय नियमहरुको आधारमा उनलाई कुर्सीबाट धकेल्न चाहन्छ । अन्य नेका लगायतका प्रतिपक्षीदलहरु दुईतर्फी स्थितिमा छन् । यद्यपि जनआक्रोशका भयले उनिहरु प्रत्यक्षतः प्रधानमन्त्री केपीओलीको व्यवस्थापिकासंसद विघटनको विरोध गर्दै र प्रमको पुतला दहनपनि गरीरहेका छन् । राजधानी र जिल्ला सदरमुकामहरुमा राजनीतिकदलहरुले थुपारेका भीडहरु, सर्वोच्च अदालतमा देखिएका बहसहरु, रेडियो, टीभी र सामाजिक सञ्जालमा प्रम ओलीको पक्ष र विपक्षमा देखिएका कथित बौद्धिकविमर्शहरु, स्तुतिगानहरु, गाली गलौजहरु सबै सरकार र प्रतिपक्ष दुबैले आफूलाई सही देखाउने प्रयत्नहरु हुन् । भन्नु पर्दैन, यस समग्र परिदृश्यमा सरकारको पक्ष र विपक्षमा देखिने बौद्धिक बहस र विमर्शहरुमा देखिने बौद्धिकसमाज अर्थात् नागरिक समाज नै हुन् । ग्राम्सीले नागरिक समाजलाई सत्ताको औचित्य सिद्ध गर्ने तथा जनआक्रोश मत्थर गर्ने प्रभावकारी औजार भनेका छन् । त्यसैकारण उनले सामाजिक परिवर्तन अर्थात् क्रान्तिकारी परिवर्तनको निम्ती जनहित प्रति सचेत, प्रतिबद्ध र इमान्दार बौद्धिक समुदायको खाँचो औँल्याएका छन् ।

यस्तो सचेत बौद्धिक समुदायलाई उनले अग्र्यानिक (सहजभाषामा खाँटी) बौद्धिक समुदाय भनेका छन् । तर यस्को निम्ती उनले साँस्कृतिक परिवर्तनको निरन्तर क्रान्तिकारी श्रृङखलाको आवश्यकता औँल्याएका छन् । संसारमा भएका कयौँ क्रान्तिहरुजनहितबाट विचलित भएर पुनः शोषणयन्त्रमा परिणत हुनुको पछाडी राजनैतिक परिवर्तनपछि व्यवस्थानुकूल साँस्कृतिक परिवर्तनको अभियान चलाउन नसक्नु तथा जनव्यवस्थानुकूल साँस्कृतिक चेतनाको विकास गर्न नसक्नु नै हो । त्यसैले ग्राम्सीले एउटा राजनैतिक क्रान्तिको सफलतालाई टिकाउन अनेकौँ साँस्कृतिक क्रान्तिको आवश्यकता पर्ने भनेका छन् । प्रत्येक सत्ताले आफ अनुकूलको साँस्कृतिक चेतनाको विकास गर्ने गर्छ । सामन्तवादी सत्ताले आफ्नो व्यवस्थाको देवत्वकरण गर्छ र सामन्तीपूर्खाहरु, सामन्ती राज्यस्थापनामा रगत र पसीना बगाउनेहरु र सामन्ती चेतनाकाा विषयहरुमा गर्व गर्न सिकाउँछ । सामन्ती व्यवस्थाको आधार अभिजात्यहरु हुनेगर्छन्, त्यसैले उसले देउता, ठूलोमान्छे, सम्पन्न मान्छे, देउता र सत्ताको गुणगान गर्ने बौद्धिकहरु, प्रवचकहरु र व्याख्याताहरुप्रति सम्मान र गर्व गर्न सिकाउँछ । पूँजीवादी व्यवस्थाको आधार पूँजी अर्थात् धन हुन्छ, त्यसैले यस व्यवस्थामा धनि हुनु प्रतिष्ठित र गर्वको विषय हुने गर्छ । यस व्यवस्थामा ज्ञान, विज्ञान र परिश्रम सबैको एउटै उद्देश्य धन आर्जन वा अर्थोपार्जन नै हुने गर्छ । यस व्यवस्थामा जनता र जनहितको जतिसुकै गुणगान गरेपनि जस्ले सबैभन्दा बढी कर सरकारलाई तिर्छ,, अर्थात् जस्ले सबैभन्दा बढी पूँजी जम्मा गर्छ र जो जतिबढी धनाढ्यपना प्रदर्शन गर्छ, त्यो त्यतिबढी सम्मानित र प्रतिष्ठित हुनेगर्छ ।

पूँजीवादी व्यवस्थामा राजनीति, धर्म, नैतिकता वास्तविक अर्थमा समग्र प्रयत्नहरु पूँजी र नाफामा मात्र केन्द्रित हुन्छन् । यसरी नै श्रमिकवर्गको समाजवादी राज्यव्यवस्थाले सिद्धान्ततः श्रम र श्रमिकहरु राज्यका सबैभन्दा सम्मानित र गर्वका विषय हुनुपर्छ भन्छ । हुन त सोभियतसंघ अहिले ईतिहास भैसकेको छ, तर त्यसको सम्विधानमा श्रमिकहरुको श्रम सबैभन्दा सम्मानित र समाजवादी राज्यको निम्ती रगत बगाउनेहरुप्रति गर्व र सर्वोच्च सम्मान व्यक्त गरिएको थियो । सोभियतसंघको सम्विधानले श्रमिकहरुलाई ज्यालामा बाँच्ने भन्दापनि उत्पादनको प्रथम साझेदारको रुपमा परिकल्पना गरेको थियो र पूँजीपतिवर्गको अधिकार राजनैतिक मात्र होइन साँस्कृतिकरुपमा पनि निषेधित गर्दै लगेको थियो । त्यस सम्विधानले व्यक्तिकेन्द्रित नाफाको ठाउँमा उत्पादनलाई सामाजिक स्वामित्वको विषय बनाएको थियो । अर्को अर्थमा सोभियतसंघले समाजवादको सुदृढिकरणको निम्ती राजनीतिसंगै साँस्कृतिक अभियानपनि चलाएको देखिन्छ । र योपनि यथार्थ हो कि, जब सोभियत समाजमा समाजवादी सँस्कृतिक कमजोर हुँदै गयो, अर्थात् राज्यसत्ता समाजवादी सिद्धान्त र अर्थराजनैतिक सँस्कृतिबाट विचलित हुँदैगयो तथा पूँजीवादी सम्बन्धहरु प्रोत्साहित हुँदैगयो, त्यो राज्यसत्ता अन्ततः विघटित भयो । यसको सार के हो भने जनवादीराज्यहरुले जनहितको विचारमा आधारित सचेत साँस्कृतिकताको विकास गरिरहनु पर्छ । तर पूँजीवादीराज्यलाई जनविचार र जनप्रतिरोधको विचार हानिकर हुन्छ, त्यसैले उसले तटस्थ बौद्धिकताको नाममा गैरवैचारिक र पूँजीवादीसम्विधान जतिसुकै शोषण र विभेदयुक्त भएपनि त्यसलाई स्वीकार्ने तथा त्यसैलाई नैतिक मान्न प्रेरित गर्ने साँस्कृतिकताको विकास गर्छ । त्यसैकारण पूँजीवादमा जनताका निम्ती मरिमेट्ने वैचारिकभन्दापनि सिनेमा, खेल, सफल पूँजीपति, गायक, साधुसन्तहरु, धनिबन्न प्रेरित गर्ने मोटिभेसनल स्पीकरहरु, विश्वसुन्दरी, ब्रह्माण्डसुन्दरीहरु, देशसुन्दरीहरु प्रदेशसुन्दरीहरु, टोलसुन्दरीहरु हिरो हुनेगर्छन् ।

पूँजीवादको आधुनिक रुप नवउदारवादले यिनै गैरवैचारिक नायकहरु (हिरोहरु)को माध्यमबाट जनकल्याणका योजनाहरु अगाडी बढाउँछ, जस्ले जनसमुदायमा राजनीतिक सबैरुपहरु कि त फाल्तु र जोकर जस्तो, कि त फोहोर जस्तो हुनजान्छ । तपाँईले ‘राजनीति सबैभन्दा फोहोर खेल हो’ भन्ने आधुनिक उखान प्रायः सुन्ने गर्नु हुन्छ । वस्तुतः फोहोर त जनताको नाममा धोखाधडी गर्ने तथा विविध राजनीतिकनाराको आडमा पूँजीपति र पूँजीवादीतत्वहरुको दलालीगर्ने राजनैतिकखेल हो । तर विडम्बना के हो भने यस्तो फोहोरखेल खेल्ने पूँजीपतिहरु, जस्ले राजनेता, जनप्रतिनिधि तथा राज्यसत्ताका अङ्गहरुलाई चाकर बनाईरहेको हुन्छ, त्यसैले नै यो उखान प्रचारित गरिरहेको हुन्छ । यी पूँजीपतिहरुको वैध–अवैध चन्दाको बलमा सत्ताशीर्षमा पुग्न सफल सत्ताधारीहरु यिनका सामू नतमस्तक हुन्छन् । आर्थिक र पेशागत वृत्तिविकासको अवसर खोजीरहेको बौद्धिक र नागरिक समाज समेत यस पूँजीवादी राज्यसत्ताको प्रचारक बनिरहेको हुन्छ । र नागरिक समाजलाई आफ्नो आदर्श र प्रेरक मान्ने आमजनसमुदायपनि भ्रमित भएर राजनीतिलाई फोहोरी खेल ठान्न थाल्छ । जबकि यथार्थ के हो भने राजनीति अर्थात जनताको कथित भोटबाट जीतेर गएका सांसद र राज्यसत्ताका अङ्गहरुले नै राज्य र समाजको सबै आयामहरुको नेतृत्व गर्छ । राज्यका कानूनहरु जनताका निम्ती बाध्यकारी हुनेगर्छन । शिक्षा, स्वास्थ्य, आवास, जनकल्याणका योजनाहरु, न्यायालय र न्यायाधीश, गरीबी, महँगी, सस्ता, खेलकूद, सिनेमा, भौतिक विकास अर्थात मानवीय जीवनको सबै आयामहरुको नेतृत्व राजनीतिलेनै गर्छ । तात्पर्य के हो भने राजनीति जनहितप्रति इमानदार र विवेकशील छ भने जनताको जीवन सुखमय र सहज हुनेछ, राजनीति इमान्दार छैन भने जनताको जीवन अमानवीय र कष्टकर हुनेछ ।

यस्तोमा राजनीति फोहोरी खेल कसरी हुनसक्छ ? तर यो पूँजीवादी शोषण र विभेदयुक्त राजनीतिको साँस्कृतिक विभ्रम नै हो कि उसले राजनीतिलाई फोहोरी खेल भनेर जनतालाई यसबाट विरक्त गराउँछ र आफ्नो नाफाको राजनीति कायम राख्छ । हामीले देशमा समाजवादोन्मुख संघीय गणतन्त्र त ल्यायौँ, तर यस अनुकूलको साँस्कृतिक अभियान सञ्चालन गर्न सकेनौँ । न हामीले राजनीतिको चरित्र बदल्न सक्यौँ, न त साँस्कृतिकता नै बदल्न सक्यौँ । समाजवादोन्मुख राज्यमा पनि पूँजीको बलमा सत्तामा पुग्ने चलन कायम नै रह्यो । अर्कोतिर श्रमिकहरु समाजमा हेय नै रहे भने जस्तोसुकै तिकडम गरेर धन कमाएपनि धनिमानिसले हरेक ठाउँमा सबैभन्दा सम्मानित कुर्सी पाउने चलनपनि कायम नै रह्यो र सम्विधानमा लेखिएका हरफहरु प्रभावहीन अक्षरमा मात्र सीमित हुनथाले । यसलाई गैर राजनीतिक सँस्कृति नै भन्नु पर्छ कि सत्ताशीर्षमा बसेको मानिसले सम्विधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद नै भङ्ग गर्छ र राज्यसत्ताका सबै अङ्गहरु त्यसलाई शिरझुकाएर स्वीकार गर्छ । यसले राज्यसत्ताको वर्तमानस्वरुप राजनैतिक र साँस्कृतिकरुपमा विघटित हुँदैगएको प्रष्ट संकेत दिन्छ । त्यो यस कारणपनि हो कि प्रम ओलीको विरोधमा हुने आमसभाहरुमा मात्र भीड हुनु त स्वाभाविक नै हो, उनको पक्षमापनि भीड देखिन्छ । नागरिक समाज विभक्त छ, पद, प्रतिष्ठा र पुरस्कार होस वा आर्थिक लोलुपता, नागरिक समाजको एउटा हिस्सा त प्रम ओलीको पक्षमा त कुर्ली रहेकै छ, र पद र अर्थको लोभमा विरोधी पार्टीहरुको नेता र कार्यकर्ताहरुपनि उनको पार्टीमा जाँदै छन् । र यो राजनैतिक र साँस्कृतिक विचलन, यसै राजनैतिक व्यवस्था र सम्विधान मातहत नै हुँदैछ । यसले यस व्यवस्थाबारे नयाँ ढङ्गले सोच्नु पर्ने माँग गर्छ । राजधानीमा नागरिक समाजको नाममा एउटा बौद्धिकसमुदायलेजनआन्दोलनको आवश्यकता औँल्याईरहेका छन् ।

त्यो आवश्यकपनि देखिन्छ । प्रचण्ड नेतृत्वको नेकपा तथा जसपा लगायतले संयुक्त जनआन्दोलनको चर्चापनि गरिरहेका छन् । तर प्रश्न छ, के वर्तमान राजनैतिक स्थितिलाई यथावत राखेर परिवर्तनको अपेक्षा गर्न सकिन्छ ? के उनिहरु सत्तामा छँदा जनतालाई धोका दिँदै आएका हैनन् र? र यो यसै सम्विधान र राज्यव्यवस्था मातहत नै भएको होइन र ? जो सुकै सफल भएपनि आगामी दिन शोषण र विभेदयुक्त राजनीतिभन्दा भिन्न हुनेछ र ? जनआन्दोलन होस वा संयुक्त आन्दोलन, वर्तमान राजनैतिक ढाँचाको अपूरोपना अर्थात् वास्तविक अर्थमा जनताको संघीय गणतन्त्रको निर्माण गरिएन, पूँजीवादी सम्बन्धहरुलाई हतोत्साहित तथा समाजवादी अर्थराजनैतिक सम्बन्धहरुलाई सम्वैधानिक र क्रियात्मकरुपमा प्रोत्साहित गरिएन भने अहिलेका आन्दोलनहरु भ्रममा परिणत हुने मात्र देखिन्छ । तर नागरिक समाजको राजनैतिकपार्टीहरुको निकटपनाका अतिरिक्त आफूलाई तटस्थ भन्ने एउटा बौद्धिक हिस्सा यस्तो छ, जो जागिरे मानसिकतामा छ । जो देशमा चलिरहेका उथल पुथलबाट उदासीन र पृथक छ । ऊ जागिर खान्छ, तलब थाप्छ र परिवारमा रमाउँछ र बढीमा साथीभाई जम्माभएर देशमा भएका राजनीतिक आन्दोलनहरु, दमनहरु, नेता र आन्दोलनकारीहरुले लठ्ठी खाएर टाउको फुटाउने जस्ता घटनाहरुलाई बौद्धिकविमर्श र मनोविनोदको विषय बनाउँछ । अधिकतम् कोठे आलोचनामा मात्र आफ्नो दायित्व पूरा भएको ठान्छ ।उसको निम्ती राजनीति त धूत्र्त नेताहरुको विषय मात्र हो । उनिहरुको राजनैतिकचेतना तुलसीदासको ‘कोउ नृप होइ हमे का हानी’ मा सीमित हुने गर्छ । तर उनिहरुले के बुझेका छैनन् भने पूँजीपतिका राजनैतिक चाकरहरुलाई सत्ताशीर्ष सम्म पु¥याउनुमा यी तटस्थ र निरपेक्ष बौद्धिकहरुको मत तथा विभेदयुक्त राजनैतिक व्यवस्थाप्रतिको मौनतालेपनि भूमिका खेलेको हुन्छ ।

वस्तुतः आफूलाई राजनीति, साहित्य र सँस्कृतिका प्राधिकारी ठान्ने यी बौद्धिकहरु साँस्कृतिकरुपमा पराश्रित जीवहरु राजनीतिलाई जतिसुकै गाली गरेपनि, जनसँस्कृतिको रक्षामा टाउका फुटाउनुको साटो, त्यसै राजनीतिमा विभूषित, सम्मानित र पुरस्कृत हुने अपेक्षा राख्छन् । होइनभने उनिहरुपनि नयाँ राजनीति तथा जनसंस्कृतिको पक्षमा सक्रिय र संघर्षरत् हुनुपर्छ ।

Comment


Related News

Latest News

Trending News