अपडेट 
२०७७ माघ २८, बुधबार ०७:०१

उपभोगवादले पनि अहिे विस्तारै सामाजिक विकृतिको रुप लिन थालिरहेको पाइएको छ । नेपालमा आएको खुल्लापन र अन्य सामाजिक कारणले पनि उपभोगवादले विस्तार पाइरहेको अवस्थामा यसमा विकृतिका पनि अनेक रूप देखिन थालिएको हो । मानिसमा स्वार्थीपनाको स्वरुपमा विस्तार हुन थालेपछि जस्तोसुकै काममा फाइदा मात्र खोज्न थाल्दछ । फाइदा जुनसुकै बाटोबाट वा जस्तोसुकै कुकृत्यबाट भए पनि हुन्छ । आर्थिक फाइदा हुने भएपछि जे गर्दा पनि हुने रहेछ वा जे गर्दा पनि अप्ठयारो नलाग्ने रहेछ भन्ने मनोविज्ञान पनि कतिपय मानिसमा हुन पुग्दो रहेछ । आफ्नो निजी फाइदाले समाजलाई र राष्ट्रलाई कति हानि गर्दोरहेछ र किन आर्थिक फाइदामात्र सबै थोक होइन भन्नेतर्फ कतिपय मानिसको सोचाइ नै जाने रहेनछ वा गए पनि अरु केही नहेरेर सबैलाई बजार वा सबैमा आफ्नो निजी स्वार्थमात्र देख्ने रहेछ । स्वार्थको अन्धताले मानिसमा अर्थ संकलनको प्रवृत्ति वा छिटो धनी बन्ने प्रवृत्तिको विकासको दुष्प्रभावको रुपमा समाजमा अनेक विकृतिहरु देखिन थालेका छन् । यीमध्ये कतिपय विकृति त यस प्रकारका रहेका छन् जो सामान्य अवस्थामा अकल्पनीय नै मान्न सकिन्छ । सर्वसाधारणले नजान्ने गरी उसको स्वास्थ्य वा सम्पत्ति दुवै बरबाद भइरहेको पनि हुन सक्छ । एकजना मित्रले भनेका थिए – हरियो सागसब्जीले मानिसलाई अन्धो बनाउँछ । पहिले सुन्दा व्यङ्ग्य गरेजस्तो लागे पनि तिनले वास्तवमा प्रमाणित गरिदिए । बजारमा देखिने निकै आकर्षक र हरिया तरकारी तथा सागसब्जी उब्जाउने माटोमा अत्यधिक मात्रामा रासायनिक मल र तरकारीमा अत्यधिक मात्रामा जहर छरिएको हुन्छ । रोग र कीराबाट जोगाउन गरिने उपायले गर्दा जहर मानिसले खाइरहेको हुन्छ र त्यस किसिमका तरकारी र हरियो सागले मानिसको आँखालाई तेजिलो पार्नेभन्दा पनि आँखाको ज्योतिलाई नै हानि गर्ने हुन्छ रे । ती मित्र शाकाहारी थिए र छन् पनि ।

उनको आशय मांसाहारी भोजनतर्फ थिएन तर मेरो मनले त्यत्तिबेला के विचार गरेको थियो भने वास्तवमा शाकाहारी भोजन गर्नुभन्दा वेला मौकामा मांसाहार भोजन राम्रो होला । व्यापारीले पनि सबैभन्दा पहिले बढी हरियो देखिने साग नै किन्ने र उपभोक्ताले पनि हरिया साग देखेर लोभिने हुनाले रासायनिक मल र कीटनाशक औषधिले गरिरहेको हानितर्फ ध्यानै जान सकिरहेको हुँदैन । उपभोक्ताको रुचिलाई विचार गरेर व्यावसायीतथा बेपारी दुवैले अझ हरिया बनाउने काममा चाहिनेभन्दा निकै कडा रासायनिक मल र कीटनाशक औषधिको प्रयोग गर्न प्रोत्साहन पाउँछन् । सुनेको बखत यो कार्य नै निकै उपभोक्तावादी लागेको थियो । अहिले पनि कहिलेकाहीँ के सुनिन्छ भने तरकारीमा विषादि सँगसँगै सूई लगाउँछन् रे । कहाँसम्म सत्य हो तर धेरैले भन्ने गरेका छन् । घिरौला वा लौकाको लहरामा नै सूई लगाएपछि तरकारी धेरै फल्ने र चिचिला नमर्ने भनिएको पाइन्छ । यस प्रकारको सूई मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको पनिसुनिन्छ । कतिपय तरकारीलाई कृत्रिम रुपमा हरिया बनाउने गरिएको पाइन्छ । कृत्रिम हरियो बनाउने रसायन पाइँदो रहेछ । यसरी तरकारीको लहरामा सूई लगाउनु तथा कृत्रिम रंगले तरकारीलाई हरिया बनाउनु कत्तिको जायज हो भन्ने कुराको आधिकारिकता कतै पाइन्न ।

यत्ति मात्र होइन, एक जना मित्रले आफ्नो गाउँमा आफैँले देखेको कुरा यसरी सुनाए – तरकारी खेतमा खेतभरिको हरियो टमाटरलाई एक रातमै खोजेको जस्तो रातो बनाइदिन्छन् खेतमै । साँझ एक किसिमको औषधि छ¥यो र भोलिपल्ट सबै टमाटर आफैँ रातो भइरहेको हुन्छ । खेतमै रातो देखेपछि प्राकृतिक रुपमै पाकेको होला भन्ने त स्वाभाविक रुपमा सर्वसाधारणले पत्याउनु पर्ने हो तर आफ्नै आँखाले देखेकोले विश्वास लाग्दैन । पैसा कमाउन उपभोगकर्ताको स्वास्थ्य तथा पैसाको अवमूल्यन भइरहेको यथार्थ हो । बजारमा जहाँतहीँ सजिलै पाइने कुखुराको मासुको सन्दर्भ पनि कम्ती उपभोक्तावादी देखिँदैन । घरमा पालिने र दाना खाने हुनाले कुखुरालाई निकै राम्रो मान्न सकिन्छं तर अहिले आएर के सुनिन थालिएको छ भने कुखुरालाई छिटो हुर्किनको लागि अनेक किसिमका दानाहरुसँगै एन्टिबायोटिक ख्वाइने गरिएको पाइन्छ रे । यो कहाँसम्म सत्य हो भनिहाल्न गाह्रो छ धेरै किसिमको एन्टिबायोटिक वा एकै किसिमको एन्टिबायोटिकको मात्रा धेरै एउटै कुखुरालाई ख्वाइयो भने कुखुरा छिटै ठूलो हुने गर्दछ रे । अब यदि यो कुरा सत्य हो भने कुखुरा खानु पनि अपराधै हुन्छ । यदि हाइ एन्टिबायोटिक र अनेक किसिमका दाना खुवाएर कुखुरालाई बजारमा ल्याइएको छ र उक्त कुखुरा नै सर्वसाधारणले राम्रो मानी खान्छन् भने त्यसको मासुले शरीर स्वास्थ्यमा के कस्तो हानि गरिरहेको छ, यसबारे बुझ्नै पर्ने हुन्छ । यस विषयमा सर्वसाधारणले सजिलो गरी थाहा पाउनु पर्दछ कि साँच्चै कुखुराले खाने दाना र औषधि मानव स्वास्थ्यको लागि हानिकारक छ कि छैन ।

यदि छ भने कुखुरालाई पाल्ने र छिटै धेरै पैसा कमाउने नाउँमा कतिपय मानिसले स्वास्थ्यसित खेलवाड गर्ने बेपार नै गरेको मान्नु पर्दछ । यदि जानी जानी कोही कुखुरापालकले यस प्रकारको काम गर्दछन् भने निःसन्देह यस प्रकारका व्यावसायीले स्वास्थ्यसित खेलवाड गरेका छन् । उपभोक्ताको रुचिलाई बुझेर यस किसिमका व्यावसायीले साँच्चिकै सामाजिक रुपमा अन्याय नै गरेको देखिन्छ । आज मानिस पैसा कमाउन सिधै विदेश गइरहेका छन् । मानिसमा आफ्नोपनप्रतिको मोह यति तीव्ररुपमा स्खलन भइरहेको छ कि यसको उदाहरण कुनै खहरेसितमात्र तुलना दिएर दिन सकिन्छ । जसरी एउटा ढुंगाले आफूले पहाडलाई थिचेर अड्याइरहेको जस्तो बताउँछ र एकछिनपछि पानी पर्दा ढुंगा बगेर जान्छ, ठीक यसै गरी सामाजिक नैतिकताका मान्यताहरु बगेर गइरहेको देखिन्छ । समाजमा अब कोही श्रमदान गरेर समाजको विकास चाहँदैन । यदि कतै केही मानिसले श्रमदान गरेर विकास गर्न खोजेका छन् भनपनि त्यसलाई कसैले आफ्नो योजना र बजेटमा पारेर रकम कुम्ल्याइ हाल्छन् । यसले गर्दा समाजमा मान्यता हराइरहेका छन्, असिनाजस्तो हेर्दाहेर्दै बिलाइरहेका छन् । हराएको मूल्य र मान्यताहरु फेरि फर्केर आउने सम्भावना पनि रहँदैन । आखिरमा मानिसको गन्तव्य के होला भनेर पनि प्रश्न गर्न सक्ने अवस्थालाई हटाउने गरी मानिस किन स्खलित भएको होला ? जीवन नै मानिसको गन्तव्य हुनुपर्छ र पैसा चाहिँ गन्तव्य हुनु हुँदैन ।

पैसा त गन्तव्यमा पुग्ने साधन हुनुपर्ने हो । पैसाले जीवनलाई बचाउँछ र जीवनले पनि पैसालाई बचाउँछ । अहिलेको युगमा दुवै एक अर्काका परिपूरक भइसकेका छन् तर यसको अर्थ यो कदापि होइन कि पैसाको लागि जीवनलाई मूल्यहीन मान्नु परोस् । जीवनलाई बलि चढाएर पैसा मुस्कुराओस् भन्ने समाजको कल्पना मानवीय हुन सक्दैन । मानवभन्दा माथि पैसा हुन सक्दैन । मानिसले आखिरमा पैसा कमाएर के गर्छन् ? के जस्तोसुकै माध्यमले पैसा मात्र कमाउने हो ? देशमा प्रजातन्त्र र लोकतन्त्र आयो भनेर लोकतन्त्रमा पैसा कमाउने सीमा हुँदैन ? मानिसले लोकतन्त्रको उपयोग यसै गरी गर्छन् ? लोकतन्त्रको यो सदुपयोग हो कि दुरुपयोग ? मानिसले पैसा कमाउने स्वतन्त्रता त पाएको छ तर स्वतन्त्रताको चरम दुरुपयोग गरेर उसले कसलाई ठगिरहेको छ ? मानिस भएपछि लोकतन्त्रमा उसले मानवताका लागि गर्नुपर्ने केही काम नै रहँदैन ? अरुको स्वास्थ्य, गर्व र आफ्नो संस्कृतिसमेतलाई बेचेर केवल पैसाको पछि कुद्नु नै मानिसले सिकेको हो त ? यस किसिमका नवीन विकृतिलाई सधैँको लागि रोक्ने गरी मानिसले नै सोच्नु अनिवार्य भइसकेको छ । समाज नितान्त पैसामुखी बन्दै गइरहेको र पैसा हुने नै समाजमा सर्वेसर्वा कहलाउने प्रवृत्तिको विकास तीव्ररुपमा भइरहेकोले अबको दिनमा यसलाई रोक्न र सकारात्मक दिशामा मानव समाजलाई लैजानुपर्ने आवश्यकतालाई बौद्धिक समुदायले विचार गर्नु परेको छ । पैसा धेरै थोक हो तर सबै थोक होइन, जो जसरी र जति सक्छ उसै गरी निर्वाध पैसा कमाउने मानवीय प्रवृत्तिलाई थोरै भए पनि परिमार्जन गर्नु जरुरी छ । मानिसले मानिसभन्दा ठूलो पैसालाई मान्नु हुँदैन र मानिसको सवालमा मानिस र मानिसको हित सर्वोपरि हुनु पर्दछ । मानवतालाई हानि गर्ने कुरालाई मानिसले विस्तारै परित्याग गर्नेतर्फ आफ् नो सोचाइलाई अहिले केन्द्रित गरिएन भने भोलिको समाज अझ अकल्पनीय किसिमले ओरालो लागेको देख्नुपर्ने अवस्था आउन सक्छ ।

Comment


Related News

Latest News

Trending News