प्रदेश सरकारका सभामुख, मन्त्री, राज्यमन्त्रीको अंगरक्षक( गार्ड)लाई सशस्त्र प्रहरीले फिर्ता बोलाएको छ ।
विशिष्टि व्यक्तिको सुरक्षा कार्याविधि २०७० को अधारमा प्रदेशका मन्त्री र सभामुखले पाएको वरिष्ट हवल्दार सहित २ जना गार्ड सशस्त्र प्रहरीले हटाएको हो । सशस्त्र प्रहरी मुख्यालयबाट बुधबार प्राप्त पत्रको अधारमा बिहीबार मन्त्री र सभामुखलाई सशस्त्र प्रहरी अंगरक्षक फिर्ता बोलाउने बारे जानकारी गराएको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआइजी सीपी गौतमले बताए । ‘मन्त्रीको सुरक्षाकालागि खटिएका सशस्त्र प्रहरी फिर्ता ल्याउन सरकारसंग बिहिबार समन्वय गरिएको हो’ उनले भने, सशस्त्र प्रहरीका अंगरक्षक फिर्ता बोलाएपछि मन्त्री र सभामुखलाई नेपाल प्रहरीले अंगरक्षक उपलब्ध गराउनेछ । मन्त्रीको अंगरक्षकबाट सशस्त्र प्रहरी झिकिएपछि प्रदेश २ को आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बिहीबार आकस्मिक सुरक्षा बैठक बोलाएर नेपाल प्रहरीबाट गार्ड उपलब्ध गराउने विषयमा छलफल गरेका हुन् ।
बैठकमा सभामुख र मन्त्रीलाई विशिष्टि व्यक्तिको सुरक्षा कार्याविधि २०७७ अनुसार नेपाल प्रहरी पठाउने विषयमा छलफल भएको नेपाल प्रहरी प्रदेश २ का प्रमुख डीआईजी धिरज प्रताप सिंहले बताए । ‘नया सुरक्षा कार्यविधि अनुसार ७ वट प्रदेशका मन्त्रीको अंगरक्षक र सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएको हो ’ सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी राजु अर्यालले भने, फौजको नयाँ कार्यविधि अनुसार प्रदेशका मन्त्रीहरुको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाएको हो । सशस्त्र प्रहरीको नयाँ कार्यविधिमा प्रदेशका मन्त्रीहरुको सुरक्षामा सशस्त्र प्रहरी नखटाउने उल्लेख छ’उनले भने , प्रदेश २ सरकारका मन्त्रीहरुका लागिमात्रै करिब ३२ जना सशस्त्र प्रहरीको वरिष्ठ हवल्दार र हवल्दार खटिएका छन् । प्रदेश सरकारका अरु मन्त्रीहरुलाई २–२ जना सशस्त्र प्रहरी र आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई पछुवासहित ८ जना सशस्त्र प्रहरी खटाइएको थियो । अंगरक्षक र सुरक्षाबाट सशस्त्र प्रहरी झिकिएका प्रदेश २ सरकारलाई जानकारी गराइसकिएको छ ।
प्रतिनिधिसभा विघटनसँगै प्रदेशसभालाई पनि असफल बनाउने प्रयास भइरहेको बेला मन्त्रीहरुको सुरक्षाबाट सशस्त्र प्रहरीलाई फिर्ता बोलाएपछि प्रदेश २ सरकारका मन्त्रीहरुले विभिन्न आशंका व्यक्त गर्न थालेका छन् । प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई भने नेपाली सेना अंगरक्षकमा खटाइएकोछ ।वरियतामा मुख्यमन्त्री आफ्नो प्रदेशमा संघीय सरकारको मन्त्री भन्दा माथि रहेका छन् । मुख्यमन्त्रीलाई नेपाली सेना र मन्त्रीलाई नेपाल प्रहरीको हबल्दार गार्ड राखिदा मर्यादाक्रम निकै तलमाथि देखिने बताउन थालिएकोछ ।प्रदेश सरकार गठन भएदेखि नै मन्त्ती र राज्यमन्त्रीहरुको गार्डमा सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार र हबल्दार खटाइएको थियो ।



