अपडेट 
२०७७ फाल्गुन ३, सोमबार ०८:०९

मलगंवा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध कांग्रेसले प्रदर्शन जारी राख्ने बताएका छन् ।

सर्लाहीको बबरगंजमा आइतबार आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेसले आन्दोलन जारी राख्ने बताउदै कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले अदालतको निर्णय नै स्वीकार्य हुने बताए । अदालतले निर्वाचनको पक्षमा फैसला गरे पार्टीले स्वीकार गर्दै निर्वाचन तयारीमा लाग्ने तथा संसद् पुनर्स्थापनाको पक्षमा फैसला गरे सशक्त भएर संसद्मा काग्रेस प्रस्तुत हुने छ, निधिले भने । अदालतको फैसला पर्खिन कार्यकर्ताहरुलाई निधिले आग्रह गरे । ‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, लोकतन्त्रमा न्यालयको भूमिकामा शंका गर्ने ठाउँ हुँदैन, त्यसैले हामी अदालतको निर्णय पर्खेर बसेका छौं,’ उनले भने, ‘तपाईंहरु पनि अदालतकै फैसला पर्खिदिनुस्, जस्तो फैसला आउँछ त्यहीअनुसार हामी अगाडी बढ्ने छौं ।’ पछिल्लो चुनावमा काँग्रेससँग मात्र नभइ नेपाली जनतासँग पनि त्रुटि भएको उनले बताए । केन्द्र र प्रदेश सरकारलाई काँडाको संज्ञा दिंदै काँडा रोपेका जनताले काँडा नै टिप्न बाध्य भएको टिप्पणी गरे ।

नवप्रवेशी कांग्रेसीहरुले चन्द्रनगर गाउँपालिकामा तानाशाह प्रवृत्ति लादिएको गुनासो गरेपछि नेता निधिले राणा र राजाजस्ता तानाशाह फालिएको स्मरण गराउँदै स्थानीय तहको यस्तो प्रवृत्ति परास्त गर्न सबै एकजुट भएर लड्न आग्रह गरे । मुलुकमा राजा जस्तो तानाशाहलाई फाल्न सक्ने नेपाली जनता जोसुकै तानाशाह आएपनि नडराउन र यसकालागि नेपाली काँग्रेस जनताको साथमा रहने निधिले बताए । नेपाली कांग्रेस गाउँ समिति ,चन्द्रनगरले आइतबार सर्लहीको चन्द्रनगर गाउँपालिका बबरगंजमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गरेकाहरुलाई निधिले स्वागत गर्दै जनताको साथ बिना जित नहुने बताए ।

Comment


Related News

Latest News

Trending News