अपडेट 
२०७७ फाल्गुन ६, बिहीबार ०७:४४

जनकपुरमा श्रीमानले छ्यापेको एसीडबाट गम्भिर घाइते भएकी आरती साह लामो समयको उपचारपछि डिस्चार्ज भएकी छिन् । किर्तिपुर स्थित अस्पतालमा उपचारको क्रममा आरतीको दाहिने आँखा गुमेको हो । एसिड प्रहारबाट आरतीको दाहिने आँखा गुमेको र अनुहकारको दाहिने भाग जलेर कुरुप भएको छ भने कान, घांटी, छाती, पेट, हात र खुट्टा जलेर कुरुप बनेको छ । एसिड छ्यापेर अनुहार कुरुप बनाएको श्रीमानलाई हुने सजाय देखेर फेरीपनि कसैले कुनै महिलामाथि एसिड फाल्ने हिम्मत नगरोस आरतीले बताइन् । असोज २९ गते लक्ष्मी पुजाको दिन बिहान श्रीमानले स्टीलको गिलासमा राखेको एसिड आरतीको अनुहारमा फोलेको थियो । एसिडबाट आमा आरती र छोरी रिया साहको शरिर जलेर कुरुप भएको छ ।

अस्पतालबाट १ सय ८ दिन उपचारपछि डिस्चार्ज भएकी आरती बुधबार बकपत्रका लागि अदालत आएपनि उनको वकपत्र फागुन १९ गते तोकिएको छ । जिल्ला अदालत धनुषाले श्रीमती र छोरीमाथि एसिड छ् याप्ने श्रीमान संजिव साहलाई पुर्पक्षकलागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले मंसिर २६ गते एसिड छ्याप्ने श्रीमानलाई पुर्पक्षकालागि थुनामा राख्न र एसिड बेच्ने निखिल स्टोरका सञ्चालक नागेन्द्र साहलाई २ लाख धरौटी राखेर सधारण तारेखमा छोडने निर्णय गरेको थियो । जिल्ला अदालतको आदेशमा असहमति जनाउदै जिल्ला सरकारी वकिल कार्यालय धनुषाले उच्च अदालत जनकपुरमा पुष ७ गते नागेन्द्रलाई थुनामा राख्न माग गर्दै पुनरावेदन गरेको थियो । तर, उच्च अदालत जनकपुरका न्यायाधीश लेखनाथ घिमिरे र रमेश ढकालको संयुक्त इजलासले माघ २३ गते ३ लाख धरौटी तोकेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय धनुषाले एसिड बेच्ने व्यापारीलाई १५ वर्ष ६ महिना कैदसहित क्षतिपूर्ति माग गर्दै जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गराएको थिए । कानुन बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने अभियोग जिल्ला अदातलतमा दर्ता गराएको थियो । एसिड प्रहारबाट आरतीको शरीरको दाहिने छेउको ३० प्रतिशत भाग जलेको छ । आरतीको ५ वर्ष अगाडी धनुषा सबैला नगरपालिका–६ का २६ वर्षीय सञ्जिव साहसंग विवाह भएको थियो । दुवै जना बिच सम्बन्ध बिग्रिएपछि आरती माइतमा आमा वुवासंगै जनकपुरमा बस्दै आएका थिए । सम्बन्ध बिच्छेका लागि जिल्ला प्रहरीबाट अदालत जाने सहमति भएको थियो । सम्बन्ध विच्छेद गराउने भएपछि सौन्दर्यता बिगार्न श्रीमानले एसिड छ्यापेको आरतीले बताइन । सरकारले नै एसिड प्रहारबाट सिकिस्त भएकी आरतीको उपचारमा सहयोग गरेको छ । आरतीलाई प्रदेश २ का मुख्य न्यायधिवक्ता कार्यालयमा अगामी साउनदेखि जागिर दिने प्रक्रिया अगाडी बढाइएको छ ।

एसिड छ्याप्ने घटना बढेपछि ०७७ असोज १२ गते सरकारले तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी वा बिक्री वितरण गर्न चाहने व्यक्तिले अनुमतिपत्र लिनु पर्ने व्यवस्था सहितको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ सम्बन्धि कानुन बनाएको छ । कानुन बनेपछि जनकपुरमा पहिलो पटक आरतीमाथि श्रीमानले नै एसिड प्रहार गरेको थियो । नयाँ कानुन अनुसार एसिड आक्रमण गर्नेलाई अधिकतम २० वर्ष जेलसजाय र १० लाख जरिवाना हुने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका प्रावधानहरू राखिएको छ । सरकारले एसिडको खुला विक्री वितरणमा प्रतिबन्ध लगाउने, एसिड आक्रमण गर्नेलाई कडा सजाय दिने र पीडितलाई निशुल्क शिक्षा र रोजगारी उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

Comment


Related News

Latest News

Trending News