अपडेट 
२०७७ फाल्गुन ११, मंगलवार १८:२४

चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा जिल्लामा ४ सय ८३ सवारी दुर्घटना भएका छन् । यसरी भएका दुर्घटनामा परि ४८ जनाले ज्यान गुमाएका छन् ।

बढ्दै गएको सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले मंगलबार जिल्ला प्रहरी कार्यालयमा चालक र सवारीधनी समेत राखेर आयोजना गरिएको सचेतना कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । यस अवधीमा भएका सवारी दुर्घटनामा परि ६ सय २४ सवारीसाधनमा क्षति तथा ६ सय ३० जना घाइते समेत भएको तथ्याङ्कले देखाएको छ । प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार यस अवधीमा सवारी ऐन नियम विपरीत काम गर्ने चालक र सवारीधनीबाट जरिवाना बापत ७३ लाख २१ हजार रुँपैया राजश्व संकलन समेत गरिएको छ । यस्तै सोमबार र मंगलबार गरि दुई दिनमा लाइसेन्स, ब्लुबुकलगायतका आवश्यक कागजात नबोकी चालकले सडकमा गुडाइरहेका करिब २७ वटा ट्याक्टर समेत नियन्त्रणमा लिएको छ । यसरी नियन्त्रणमा लिइएका ट्याक्टर र चालकलाई ५ सयदेखी २ हजारसम्म जरिवाना बुझाएपछि सचेत गराउँदै छाडिने प्रहरीको भनाई छ । यता मंगलबारै प्रहरीले दुर्घटना न्युनिकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभुति गराउन चालक र सवारीधनीलाई राखेर सचेतना कार्यक्रम गरेको छ । सवारी चालकहरुकै कारणले बढी दुर्घटना हुने गरेको देखिएकाले दुर्घटना न्युनिकरण तथा सडक अनुशासन कायम गर्न सचेतना कायम गरिएको डिएसपी भुवनेश्वर साहले बताए ।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रहरी निरिक्षक यमलाल बन्जाडेले पनि न्युनिकरणमा सवारी चालकहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै ट्राफिक ऐन नियमबारे प्रशिक्षण तथा सोको पालना गर्न आवश्यक जानकारी समेत दिएका थिए । कार्यक्रममा चार दर्जन भन्दा बढी चालक, सहचालकका साथै सवारीधनीहरु पनि सहभागि थिए ।

Comment


Related News

Latest News

Trending News