अपडेट 
२०७७ फाल्गुन १५, शनिबार ०८:१२

जनकपुरधाममा धर्मको नाममा गुठिको जग्गा हड्पने क्रम अझै रोकिएको छैन ।

जनकपुरधामस्थित स्वर्गद्वारी अर्थात समसानघाट नजिकै माँ शनि देव र भद्रकालीको नाममा गुठीको झण्डै दुई कठ्ठा जग्गा सर्लाही नगरपालिका–७ कर्मैयाका अमरनाथ रिजाल उर्फ तपस्वी भुतनाथ बाबाले कब्जा गरेका छन् । २०७२ साल मंसिरमा सानो झोपडी बनाएर सो जग्गामा बस्दै आएका रिजालले ५ वर्षकै अन्तरालमा लाखौ रुपैयाँ लगाएर त्यहाँ मन्दिरसँग सँगै आफ् नो घरपनि निर्माण गरेका छन् । जिल्ला अदालतमा मालिको काम गर्ने रिजालले अहिले तपस्वी भुतनाथ बाबा भनेर आफ्नो परिचय बनाएका छन् । सुरुमा गुठीको जग्गामा सानो झोप्रीमा बसेर शनि देव र माँ भद्रकालीको पुजापाठ गर्दा स्थानीय प्रशासन वा गुठी संस्था कसैले चासो देखाएन, न कसैले विरोध नै गरे ,उनी भन्छन्,‘ त्यसैले म मन्दिर बनाउने अभियानमा जुटे । र अहिले शनि देवको कृपाले ठुलो मन्दिर बनाउन सफल भएको छु ।’ उनी २०७३ सालमा शनिदेव एव्म माँभद्रकाली नामको एक संस्था जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गराएका छन् । त्यो संस्थाको संस्थापक अध्यक्षमा लालबाबु साह, उपाध्यक्षमा जितेन्द्र साह,सचिवमा राजिव झा र कोषध्यक्षमा ओमप्रकास ठाकुर रहेका छन् ।

त्यही संस्थाको माध्यमले विभिन्न दाताहरुसँग चन्दा संकलन गरि दुई वर्ष अघि मन्दिरको शिलान्यास गरि निर्माण कार्य सुरु गरेको उनी बताउँछन् । अहिले सम्म मन्दिरमा ५० लाख भन्दा बढि रकम खर्च भईसकेको छ, उनी अगाडी भन्छन्, यो सबै शनिदेव र माँभद्रकालीको कृपा हो । कम समयमा यति भव्य मन्दिर निर्माण हुनु भनेको चमत्कार नै भएको भन्नुपर्छ ।’ अहिले सम्म कुनै सरकारी बजेट त आएको छैन, तर यसपालि केहि व्यक्तिले सरकारी बजेट दिलाउछु भनेर आवश्वास भने दिएका छन्, उनी भन्छन्,‘ यहाँ दाताहरुको कमि छैन, माग्न मात्र सकेको छैनन् ।’ ‘घरपरिवारको लागि समस्या छैन, दुई छोरा छन्, उनीहरु पनि सरकारी जागिरमा छन्, श्रीमतिपनि उनीहरुसँगै बस्छन्, उनी भन्छन्, म अव साधु भईसकेको छु, घरपरिवारसँग मेरो त्यति मतलब पनि हुदैन ।’त्यो जग्गामा मन्दिर निर्माणको लागि गुठी संस्थासँग अनुमति लिएको महन्थ भुतनाथ बाबाले दावी गरेपनि गुठी संस्थाले कुनै अनुमति नदिएको र अतिक्रमण गरि बनाएको जनाएको छ ।

केहि दिन अघि मात्रै मन्दिरको वार्षिक उत्सवको अवसरमा जसपाका वरिष्ठ नेता तथा पुर्व मन्त्रि शरतसिंह भण्डारी, पुर्व सांसद निर्जला राउत, प्रदेश सदस्य सुरिता साहसहितका व्यक्तिहरु सहभागि भएका थिए । यसरी सरकारी सेवामा काम गरिसकेका व्यक्तिले धर्मको नाममा गुठी संस्थानमा करिव दुई कठ्ठा जग्गा कब्जा गरि आफ्ना जिविका चलाई रहेका छन् । त्यसैगरि, जनकपुरधाम उपमहनगरपालिका–१६ कपिलेश्वरका आफुलाई संसारी बाबा भनिने पुल्कित मण्डलले शनिदेव र माँभद्रकाली जग्गाकै छेउँमा रहेका डेढ कठ्ठा जग्गा मन्दिरको नाममा कब्जा गरि भोगचलन गर्दै आएका छन् । संसारी बाबाले २०५२ सालदेखि नै त्यो जग्गा त्रिर्शुल र ढुंगा राखेर शिव मन्दिरको शिलान्यास गरेका थिए । तर अहिले सम्म न मन्दिर नै निर्माण हुन सकेको छ न त्यो जग्गा गुठी संस्थानले खाली गराउन सकेको छ । अहिले त्यो जग्गामा संसारी बाबाका छोरा बिकु मण्डलले पसल खोलेर बसेका छन् । जग्गामा तारवार लगाएर उनी त्यो जग्गाको उपभोग गर्दै आएका छन् । यसरी दिनप्रतिनिद गुठी संस्थान अधिनस्त जग्गा साधुसन्तले धर्मको नाममा अतिक्रण गरि भोग चलन गर्दै आएको छ । तर सम्बन्धित निकायले समयमा ध्यान नदिदाँ त्रिशुल गाडेर अतिक्रण गरिएको जग्गामा केहि वर्षमै लाखौको लगानीमा ठुला ठुला मन्दिर निर्माण हुने गरेको छ ।

जनकपुरका सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले गुठी संस्थानको अधिनमा रहेको ६५ विग्हा १७ कठ्ठा ५ धुर जग्गा उपभोग तथा अतिक्रमण गरि उपभोग गरिरहेको जनाएको छ । २०६३ सालमा वृहतर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष भोजराज घिमिरेको संयोजकत्वमा अतिक्रमणमा परेको जनकपुरका पोखरी तथा सार्वजनिक जग्गाहरुको खोजीको लागि उच्च स्तरिय छानविन आयोग गठन गरिएको थियो । सो आयोगले बुझाएको प्रतिवेदन अहिले सम्म कार्यान्वयन हुन सकेको छैन । यता, गुठी संसथान जनकपुरका प्रमुख बैकुण्ठ प्रसाद रेग्मीले जनशक्तिको अभावमा अतिक्रमणमा परेको जग्गा खालि गराउन नसकिएको बताए । गुठी संस्थानको दैनिक कामका लागि पनि कर्मचारीको अभाव छ, प्रमुख रेग्मीले भने, अतिक्रणमा परेको जग्गालाई खाली गराउन जनशक्ति चाहिन्छ, जुन आफुहरुसँग छैन ।’ अतिक्रमित जग्गा खाली गराउन यहाँका प्रहरी प्रशासनको पनि उचित सहयोग नपाएको प्रमुख रेग्मीले गुनासो गरे ।

Comment


Related News

Latest News

Trending News