अपडेट 
२०७७ फाल्गुन १७, सोमबार ०७:४६

वीरगञ्ज ।गर्मी बढेसँगै लामखुट्टेको प्रकोप बढन थालेपछि पर्सा जिल्लाका सबै पालिकाहरुले किटजन्य रोग नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गर्ने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको अग्रसरतामा आइतवार भएको बृहत्त बैठकले जिल्लाभरि एकै साथ अभियान चलाउने निर्णय गरेकोछ । पर्सा जिल्लामा एउटा वीरगञ्ज महानगरपालिका सहित १४ वटा पालिका रहेका छन् ।ती सबै पालिकाहरुमा संयुक्त रुपमा एकै पटक अभियान चलाउन प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले बताए । बैठकमा आइतबार बसेको स्वास्थ्य कार्यालय प्रमुख, जनस्वास्थ्य निरीक्षक, पालिकाका स्वास्थ्य संयोजक, रेडक्रस सोसाइटी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुरक्षा निकायका प्रतिनिधि समेतको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए । वीरगञ्ज महानगरले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानका लागि बजेट विनियोजन गरिसकेको छ । तर त्यस बाहेकका पालिकाका स्वास्थ्य संयोजकहरुले बजेट त्यसका लागि बजेट नभएको गुनासो गरे । बजेट बिनियोजन गरिएको नभएपनि आवश्यक बन्दोबस्ती गरेर डेंगु लगायत किटजन्य रोग नियन्त्रणका लागि कदम चाल्ने प्रतिबद्धता स्वास्थ्य संयोजकहरुले व्यक्त गरेको प्रमुख चौरसियाले जनाए ।

डेंगु तथा किटजन्य रोगहरु विरुद्ध जनचेतनामुलक पोष्टर पम्पलेटहरु सार्वजनिक स्थानमा वितरण गर्ने, प्रत्येक पालिकामा जनचेतना अभिवृद्धि गर्न विद्यालयहरुमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय भएको चौरसियाले जनाए । बैठकमा नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सञ्जय ठाकुरले कार्यपत्र प्रस्तुतगर्दै डेंगु रोग वर्षायाम सकिएपछि बढी देखिने गरेको बताए । अव्यवस्थित सहरीकरणले गर्दा सहरी क्षेत्रमा केही वर्षयता डेंगुको प्रकोप देखिएको बताउँदै डा.ठाकुरले डेंगु लागेका ९० प्रतिशतलाई लक्षण नदेखिने गरेको बताए ।नेपालमा पहिलोपटक सन २००४ मा विदेशी नागरिकमा डेंगु देखा परेको थियो ।त्यसपछि नेपालमा डेंगु रोगको प्रकोप बढेको हो । जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जनाए अनुसार डेंगु रोग बिरुद्धको तयारीमा सबै पालिकाको सहमति भएकोछ । डेंगु सम्बन्धी नेपालको पछिल्लो तथ्याङ्क अनुसार प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा प्रकोप बढी देखिन्छ । आर्थिक वर्ष ०७६÷७७ मा देशभर १ हजार ५ सय ३७ वटा केस भेटिँदा यी प्रदेशहरुमा क्रमशः ५ सय ६३, ५ सय ५९, ३ सय ३९ जनामा डेंगुको संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख चौरसियाले किटजन्य रोगहरुले पटक पटक दुःख दिईरहेकोले बेलैमा सावधानी अपनाउनु पर्नेमा जोड दिए ।‘पालिकाहरुबीच समन्वयगरि जिल्ला स्तरमा र जिल्लाहरुबीच समन्वयगरि प्रदेश स्तरमा नै डेँगु र अन्य किटजन्य रोगहरुबाट बच्न अभियान चलाउनु पर्छ ’उनले भने , कोरोना भाइरसको प्रकोप बढेपछि देखिएको समस्याबाट शिक्षा लिएर अगाडी बढनुपर्छ ।

Comment


Related News

Latest News

Trending News