अपडेट 
२०७७ फाल्गुन १८, मंगलवार १६:११

मलेसियामा वैधानिक रुपमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षाबापतको सुविधा तथा क्षतिपूर्ति नेपाल ल्याउनेबारे मलेसिया र नेपालबीच सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (सस्को)बीच नेपाली कामदारहरूको लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रवर्द्धन सम्बन्धी सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाली राजदूतावास क्वालालम्पुरको सक्रियतामा समझदारीपत्रको मस्यौदामा विभिन्न चरणमा छलफल भएको थियो । अन्तिम मस्यौदालाई मन्त्रिपरिषद्को माघ २६मा बसेको वैठकले स्वीकृति प्रदान गरेको थियो । समझदारीपत्रमा बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र सस्कोका प्रमुख कार्यकारी अधिकृत डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदले हस्ताक्षर गरेका छन् । समझदारी भएको सामाजिक सुरक्षा संस्था मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको संस्था हो । सन् २०१९ को जनवरी १ देखि रोजगारदाताले विदेशी श्रमिकहरु भर्ना गर्दा सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान छ ।

सोस्कोकाअनुसार हालसम्म करिब ३ लाख नेपाली श्रमिकहरु यसमा आवद्ध छन् । सोस्कोमा आवद्ध हुन रोजगारदाताले श्रमिकले पाउने मासिक तलबको १.२५ प्रतिशतले हुन आउने रकम मासिक रुपमा बुझाउनुपर्ने हुन्छ ।

Comment


Related News

Latest News

Trending News