
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. पे्रमनारायण कँडेलले कृषकसँग सम्बन्धित मूल्यगत विषय वस्तुको सम्बोधन सन्दर्भमा मन्त्रालय प्रयासरत रहेको बताएका छन् ।
राइजोवियम घाँसेबाली बीउबिजन प्रयोगशाला जनकपुरले प्रयोगशाला दिवसको अवसरमा मंगलबार आयोजना गरेको नवीनतम प्रविधि महोत्सवको सम्बोधन गर्दै सचिव कडेलले प्रयोगशालाको संरचनामा सुधार सहित कृषि क्षेत्रमा विद्यमान समस्याको सम्बोधन हुने गरी नीतिगत समाधान योजना तर्जुमाको गृहकार्य भइरहेको बताए । कार्यक्रममा पशु विभागका पशुपंक्षी व्यवस्थापन प्रमुख डा. लोकनाथ पौडेलले गुणस्तरीय बीउ उत्पादन र अपुग आहाराको परिपूर्तितर्फ ध्यान दिनु आवश्यक रहेको बताए । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले ‘विद्यमान समस्याको समाधानका लागि मन्त्रालयले बजेट व्यवस्थापन र कृषकको मागको सम्बोधन हुने किसिमले पहल हुनु जरूरी छ’ उनले भने । प्रयोगशाला प्रमुख शङ्कर साहले देशमा २५ प्रतिशत खेतीयोग्य जग्गामा खेती नगरिएको बताउदै बाँझो खेतमा विभिन्न घाँस खेती गर्ने सम्भावना रहेको बताए ।

घाँसे बालीमा नयाँ नयाँ कीराको प्रकोप बढेको र चरन तथा घाँस विकास कार्यक्रम प्राथमिकतामा नपरेकोप्रति उनले ध्यानाकर्षण गराए । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग राइजोवियम घाँसेबाली बीउबिजन प्रयोगशाला जनकपुरले प्रयोगशाला दिवसका अवसरमा नवीनतम प्रविधि महोत्सवको आयोजना गरेको थियो । महोत्सवमा पशुपंक्षीजन्य उत्पादन, उन्नत घाँसको बीउबिजनको प्रदर्शन गरिएको छ । घाँस, भुसा र दानाको तालमेल नमिल्दा मुलुकमा पशुपालन प्रभावित भएको उनले बताए । प्रदेश २ मा हरियो घाँसको बीउ उत्पादन गरी पशु आहारा उत्पादन गर्ने प्रयाप्त सम्भावना रहेको बताए । कार्यालयमा हरियो घाँसको बीउको माग बढेपनि अभावमा किसानलाई उपलब्ध गराउन नसकिएको बताउदै ६० वर्ष पुरानो कार्यालयको भौतिक पुर्वाधार सुधारकालागि मन्त्रालयले ध्यान दिनु पर्ने बताए । तथ्याङ्कानुसार देशमा पशुका लागि आवश्यक आहार १७ प्रतिशतले अपुग तथा तराईमा १५ प्रतिशत आहारा अपुग रहेको छ । आहारामा ६५ प्रतिशतभन्दा बढी परालको प्रयोग भइरहेका कारणले उन्नत पशु आफ्नो क्षमताको ६० प्रतिशत तथा स्थानीय पशु आफ्नो क्षमताको ८० प्रतिशतमात्र उत्पादन दिइरहेको छ ।
त्यस्तै देशभरिमा घाँसको बीउको माग १६ हजार ८ सय ८३ मेट्रिक टन माग भएपनि एक हजार ९ सय ८४ मेट्रिक टन मात्र उपलब्ध छ । प्रदेश नं २ मा घाँसको बीउको माग दुई हजार मेट्रिक टन माग रहेकोमा ५०० मेट्रिक टन उपलब्ध रहेको जनाइएको छ । यसैगरी दूध प्रतिव्यक्ति वार्षिक ९१ लिटर आवश्यकता रहेकोमा ७४ लिटर, मासु १४ केजी आवश्यकता रहेकोमा १८ केजी र अण्डा ४८ वटाको आवश्यकता रहेकोमा ५०.७ मात्र उपलब्ध रहेको छ । प्रदेश नं २ मा ६६.९६ लिटर, मासु १३.४९ केजी र अण्डा १७ वटा मात्र उपलब्ध रहेको बताइएको छ ।