अपडेट 
२०७७ फाल्गुन २४, सोमबार ०७:२४

महोत्तरीको पिपरा गाउँपालिका अन्तर्गत सहोरबाका वृद्ध दम्पतिको बेपत्ता भएको दूई साता बितिसक्दा पनि प्रहरीले अझैसम्म कुनै सुइँको समेत पाउन नसकेको स्थानीयवासी अक्रोसित बन्दै गइरहेको छ ।

मैथिल ब्राह्मण महासभा सहित २२ वटा समाजिक एवं जातीय संस्थाहरुले प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई ज्ञापनपत्र बुझाउँदै कारवाही प्रकृयामा गम्भीरता देखाउन माँग गरेको छ । ६५ वर्षय मुसाफिर झा उहाँकी श्रीमती ६० वर्षिय गीतादेवी झाको घरबाटै अपहरण भएको छ । मैथिल ब्राह्मण महसभाका अध्यक्ष भगवान झाले झा दम्पतिलाई खोजी गरी दोषी कडा कारवाहीको मांग गरेका छन । ज्ञापनपत्र दिनेमा राष्ट्रीय इंजिनीयर संघ, नेपाल तराई इंजिनीयर समाज, नेपाल पत्रकार महासंघ,धनुषा, मधेश पत्रकार महासंघ, धनुषा, नेपाल कायस्थ महासंघ, समावेशी युवा क्लब, जनकपुर नागरिक समाज, नेपाल समावेशी ट्रेड यूनीयन महासंघ, नेपाल ट्रेड युनियन महासंघ स्वतंत्र, नेपाल बिस्व हिंदू महासंघ प्रदेश–२, न्यू विजÞन नेपाल, वर्क्ले एजुकेशन सोसाइटी, ह्यूमन डिवेलप्मेंट सेंटर, सामाजिक वातावरण बिकास केन्द्र, तृणमूल सशक्तिकरण केन्द्र, श्रम वातावरण बिकास केन्द्र, असहाय संरक्षण मंच, स्वंय सहायता समाज,महोत्तरी, आईडिया नेपाल ,प्रदेश–२, गौशला दलित उत्थान समाज,महोत्तरी र भारत नेपाल मैत्री समाज,जोगबनी रहेको छ ।

यता जिल्ला प्रशासन कार्यालय महोत्तरीमा स्थानीयहरुले धर्ना आन्दोलन शुरु गरेका छन । उक्त घटनामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ जारी राखेको छ । बेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रदेश २ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) धीरजप्रताप सिंहले खोजबिनका क्रममा फागुन १४ गते एक पोखरीमा दम्पतीले प्रयोग गर्ने दुइटा झुल बरामद भएपछि मारेर पोखरीमै फालिएको हुनसक्ने आशंका गरेका छन् । उनले हालसम्म सर्च अभियान अन्तर्गत महोत्तरी र धनुषाका ५० भन्दा बढी पोखरीमा जाल फालेर छान्ने, ‘बोटिङ्ग’ मार्फत् खोजबिन गर्ने कार्य गरिएको जानकारी दिए । उनले भने,‘प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । अहिलेसम्म घटनामा उल्लेख्य कुनै ‘क्लु’ भेटिसकेको छैन, दम्पतीको अवस्था हालसम्म अज्ञात छ । जिउँदो वा मृत कुन अवस्थामा छन् भन्ने कुरातर्फ अनुसन्धान केन्द्रित भएको छ । अहिलेसम्म २५–२६ जनासँग सोधपुछ गरिसकेका छौं । चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’ उनले गीताको ओछ् याननजिकै र उनको घरदेखि झण्डै १५ मिटर परसम्म देखिएका रगतका नमुना परीक्षणका लागि काठमाडौं लागिएको बताए ।

पक्राउ परेका चारै जनाको पोलिग्राफ टेस्ट गरिएको र उनीहरु मध्ये हरेन्द्र र रामबाबुले कतिपय कुरा झुठो बोलेको डिआइजी सिंहले बताए । गायव भएका दम्पतीको घरमा अहिले पनि रुवावासी चलिरहेको छ । झा दम्पती अलग– अलग कोठामा सुत्थे । मुसाफिर पुरानो घरमा सुत्थे भने गीता देवी नवनिर्मित पक्की घरमा । नवनिर्मित घरमा ढोका लगाइएको थियो भने झ्यालहरू लगाउन बाँकी नै छ । घटनाको प्रकृति हेर्दा घरको पर्खाल नाघेर दुवै दम्पतीलाई ओछ्यानसहित घिसार्दै अपहरण गरिएको प्रहरीले जनाएको छ । गीता देवी सुतेको कोठा वरिपरि रगतका छिटा समेत देखिएको छ । घर पुग्न पिसिसी ढलान गरिएको गल्लीमा समेत रगतका छिटा जस्तै टाटा देखिएका छन् । यसकारण दम्पतीको हत्या समेत भइसकेको हो कि भन्ने प्रहरीको आशंका छ । घरको तल्लो तल्लामा सुतेकी झाकी कान्छी बुहारी उषा झा र नातिनातिना भने सकुशल छन् । बुहारी उषाले भनिन्, ‘ आफू बिहान उठ्दा घरमा रगतका छिटाहरू देखें, बुवाआमा सुतेको ठाउँमा गएर हेर्दा त्यहाँ उहाँहरू दुवैजनालाई नदेखेपछि मैले छिमेकीलाई खबर गरें ।’ छिमेकीले प्रहरीलाई तत्कालै खबर गरे पनि प्रहरी भने डेढघण्टापश्चात् घटनास्थल पुगेको स्थानीयले बताए । घटनास्थलमा महोत्तरीका तत्कालिन प्रहरी उपरीक्षक टीकाबहादुर केसी र प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट सहितको टोली पुगेर अनुसन्धान गरेका छन् ।

घटनास्थलमा तालिम प्राप्त कुकर पनि लगिएको थियो । अपहरित मुसाफिरका बहिनी शान्ति देवीले भनिन्, ‘दाइ भाउजूको लाशै भए पनि हामीलाई बुझाएको भए सन्तोष हुन्थ्यो तर उनको कुनै खबर अहिलेसम्म नआएकाले हामी बेचैन छौँ । दुवैजनाको स्वभाव एकदमै सरल थियो, सबैसँग सुमधुर सम्बन्ध राख्ने प्रयास गर्थे । तर खोई कसको आँखा लाग्यो । दाइ–भाउजूको अपहरणसँगै परिवार नै छिन्नभिन्न भएको छ ।’ बहिनी शान्तिका अनुसार मुसाफिरको पछिल्लो समय स्वास्थ्य एकदमै कमजोर बन्दै गइरहेको थियो । उनलाई खाना नपच्ने समस्या थियो, त्यसैले उनी खाना पनि राम्ररी खान छाडेका थिए । मुसाफिर साक्षी बसेको मोही जग्गाको विवादको सम्बन्धमा फैसला आएलगत्तै उनलाई उपचारका लागि वीरगञ्ज लाने योजना परिवारको थियो । बुवाको अपहरणको खबर पाए लगत्तै माइत पुगेकी छोरी बेबी मिश्रले भनिन्, ‘मेरा बुवाले कसको के बिगारेका थिए र यो अवस्था आयो ? आमाबुवाको अवस्था अज्ञात हुँदा हामी पनि डरका बीच बाँचिरहेका छौँ ।’ उनले बुवाआमाको अवस्था चाँडै पत्ता नलागे समाजलाई लिएर कडा आन्दोलन गर्ने चेतावनी दिइन् । गाउँमै अपहरणका घटना भएकाले स्थानीयमा समेत त्रासको माहोल छ ।

जग्गा विवादका कारण अपहरण भएको त होइन ?

अपहरित मुसाफिर झा महोत्तरीको लोहारपट्टी नगरपालिका १ बगरामा रहेको एक मोही जग्गाको साक्षी बसेका थिए । मंगलबार सोही जग्गा विवादसम्बन्धी फैसला जिल्ला अदालत महोत्तरीले सुनाउने तयारी गरेको थियो । तर, सोमबार राति नै सासू–ससुराको अपहरण भएको जेठी बुहारी अंशु झाले बताइन् । अंशु भन्छिन्, ‘बगरामा रहेको ४ बिघा मोही जग्गा विवादमा मेरो ससुरा साक्षी बसेका थिए, बगराका रामजी भन्ने एक व्यक्ति उनलाई भेट्न पटक–पटक आउँथे । त्यो दिन पनि आएका थिए, मंगलबार फैसला आउने भएकाले उनीसँगै मेरो ससुरा बाहिर गएका थिए ।’ अंशुका अनुसार त्यो दिन मुसाफिर घर फर्केर पनि आए । सबै ठीक थियो । तर, राति सासू ससुराको अपरहण भएको सुइँको समेत मैले पाइनँ जबकि ससुरा सुतेको छेउकै कोठामा म सुतिरहेकी थिएँ । ती दम्पतीको अपहरण हुनुभन्दा एक दिन अगाडि गाउँकै एक व्यक्तिसँग गीता देवीको विवाद भएको थियो । बुहारी अंशुका अनुसार त्यो विवाद पनि जग्गालाई नै लिएर भएको थियो । त्यो विवाद भने साक्षी बसेको मोहीको जग्गालाई लिएर नभई उनीहरूले बेचेको जग्गाका कारण भएको थियो । पुरानो घर फुसको थियो त्यसैले पक्की घर बनाउनका लागि १० धुर जग्गा उनीहरूले बेचेका थिए अंशुले बताइन् । त्यो जग्गा गाउँकै एक व्यक्तिले लिएका थिए । ७ लाख ५० हजार रुपैयाँमा त्यो जग्गा बिक्री गरिएको थियो । जग्गा किन्ने व्यक्तिले सुरुमा ५ लाख रुपैयाँ दिने र बाँकी रुपैयाँपछि दिने भन्दै जग्गा रजिस्ट्रेसन गरिदिन दबाब बनाए जुन कुरो मेरो सासूले मान्नु भएन र विवाद भयो बुहारी अंशु बताउँछिन् । विवाद भएकै दिन मध्यरातमा उनीहरूको अपहरण भएको थियो ।

मालपोतका अवकाश प्राप्त कर्मचारी थिए मुसाफिर अपहरित मुसाफिर मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् । उनी खरिदार हुँदै नायब सुब्बासम्म पुगेर १० वर्ष अगाडि अवकाश भएका थिए । ‘दाजुको स्वभाव एकदमै सरल थियो’, भाइ विजयकान्त झाले बताए, ‘सीधा सादा तथा इमान्दारीपूर्वक जीवन व्यतित गर्ने मेरो दाइको कसैसँग दुश्मनी हुनसक्छ जस्तो मलाई लाग्दैन ।’ उनी मालपोतको पूर्व कर्मचारी भएकाले जग्गासम्बन्धी कुनै समस्या हुँदा वा विवाद हुँदा उनलाई समाधानका लागि खोजी हुने गथ्र्यो र उनले सकभर सबैलाई सहयोग गर्ने प्रयास समेत गर्ने गर्थे ।

Comment


Related News

Latest News

Trending News