अपडेट 
२०७७ फाल्गुन २६, बुधबार १०:३९

प्रतिनिधि सभा पुनःस्थापनापछिको दोस्रो बैठक आज (बुधबार) बस्दै छ ।

गत आइतबार बसेको पहिलो बैठक प्रतिपक्षीको विरोधपछि स्थगित भएको थियो । आजको बैठकमा विभिन्न ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । यसअघि यही फागुन २३ गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध पारेको थियो । तत्कालीन नेकपाको माधव–प्रचण्ड पक्षका सांसदले पनि बैठक बहिष्कार गरेका थिए । विरोधपछि सभामुख अग्नि सापकोटाले बैठक फागुन २५ सम्मका लागि स्थगन गरी फागुन २६ का लागि अर्काे बैठक बोलाएका थिए । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यक्रम छ ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेशसमेत पेस गर्ने बताइएको छ । यस्तै आजको कार्यसूचीमा पूर्व तथा बहालवाला गरी १४ सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने विषय पनि समावेश छ।

Comment


Related News

Latest News

Trending News