अपडेट 
२०७७ फाल्गुन २६, बुधबार ११:३०

बङ्गलादेशबाट खरिद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरिदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो ।

भन्सारमा आइपुगेको रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ । नेपाल सरकार र बङ्गलादेश सरकार (जीटूजी) सम्झौताअनुसारको पहिलो चरणको रासायनिक मल नेपाल आइपुगेको हो । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मलमध्येमा पहिलो चरणमा कोलकातामा २२ हजार ५०० टन रासायनिक मल ल्याइएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोलकाताबाट मल रेल तथा ट्रकमार्फत नेपालमा ल्याइनेछ । गएको बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उहाँले जानकारी दिनुभयो । यसैगरी आज पुनः रेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिडिसकेको छ । रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगञ्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ ।

कृषि सामग्री कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौताअुनसार बङ्गलादेशसँग प्रति मेट्रिक टन १८ डलरमा सम्झौता भएको हो । जीटूजीमार्फत मल ल्याउन गएको कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । 

Comment


Related News

Latest News

Trending News