अपडेट 
२०७७ चैत्र २, सोमबार १४:४६

विराटनगरबाट भारततर्फ तस्करीका लागि डिजेल लोड गरिएको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतको बरौनीबाट ल्याएको पेट्रोल डिलरहरुमा अनलोड गरी तस्करीका लागि डिजेल लोड गरेको अवस्थामा को१ख ५९१२ नम्बरको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको हो । शनिबार आयल निगमका कर्मचारीले लक लगाउने क्रममा इन्धन भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया मिरगन्जका २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय इमरोज आलम छन् । आयल निगम प्रादेशिक कार्यालय विराटनगरका सूचना अधिकारी दिवस विष्टका अनुसार शुक्रबार दिउँसो २० हजार लिटर पेट्रोल लिएर आएको ट्याङ्करलाई सोही दिन बेलुका डिलरहरुमा पठाइएको थियो । शनिबार बिहान आयल निगम कार्यालयमा प्रवेश गरेको ट्याङ्कर लक गर्ने क्रममा डिजेल भेटिएको हो । ट्याङ्करको २ नम्बर च्याम्बरमा २ हजार ६६० लिटर भेटिएको हो । भारतमा इन्धन महङ्गो भएपछि निगमले बरौनीबाट लोड भएका र विराटनगरबाट इन्धन लिनका लागि बरौनी जाने ट्याङ्करमा लक लगाउँदै आएको थियो । शनिबार बिहान लक लगाउने क्रममा ट्याङ्करमा इन्धन भेटिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार इन्धन तस्करीको घटना बाहिर आएपछि प्रहरीले पनि अनुसन्धान सुरु गरेको बताए । तस्करीमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।

Comment


Related News

Latest News

Trending News