अपडेट 
२०७७ चैत्र २, सोमबार १५:२३

राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने भएको छ ।

मुस्लिम समुदायभित्र विभिन्न थरहरु रहेका कारण समुदायलाई पहिचान गर्न समेत गाह्रो भएको भन्दै मुस्लिम आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने भएको हो । सोमबार राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ को विषयमा सञ्चारकर्मीसँग भेटघाट गर्दै आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने बताउनुभएको हो । थर सुचिकृत गर्नका लागि आर्थिक वर्ष २०७६/०७७ मा मोरङ, सुनसरी, सप्तरी, पर्सा, बाँके र पाल्पामा अध्ययन समेत भएको उहाँले बताउनुभयो । हालसम्म ४५ वटा थर फेला पारेको र थप अध्ययन गरेर सार्वजनिक गर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय मुस्लिम आयोगले २०७६/०७७ मा मुस्लिम समुदायको जनसंख्या बढी भएका ११ जिल्लाका ९१ जना महिला र ७५ जना पुरुष गरी १ सय ३१ जनालाई सिलाई कटाइ तालिम, ब्युटीपार्लर तालिम तथा सवारी साधन मर्मत तालिम प्रदान गरेको जनाएको छ । त्यसैगरी, ५२ जनालाई लोकसेवा तयारी कक्षा सञ्चालन गरेको अध्यक्ष अन्सारीको भनाइ छ । मदरसाको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको अध्ययन गरी मोरङ, सुनसरी, रौतहट, पर्सा, दाङ र स्याङ्जाका २ सय ३६ मदरसा सम्बन्धी तथ्यांक र सूचनाहरु संकलन गरिएको पनि उहाँले बताउनुभयो । मदरसामा पढ्दै गरेका विद्यार्थी छात्राहरुलाई बाहिरको सरकारी तथा नीजि विद्यालयमा पढ्दा पोशाकको असहजता भएको भन्ने जनगुनासोको सम्बन्धमा छात्राहरुलाई सहज हुने पोशाक लगाउन वातावरण बनाइदिन शिक्षा मन्त्रालयलाई अनुरोध गरेको पनि उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७६/०७७ मा आयोगलाई प्राप्त भएको ५ करोड ६ लाख ८३ हजार ६ सय २८ रुपैयाँ मध्ये २ करोड ५१ लाख ६४ हजार ९ सय ९४ रुपैयाँ ९२ पैसा खर्च भएको आयोगले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News