अपडेट 
२०७७ चैत्र ३, मंगलवार ०७:२४

म्यान्मारमा जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट सोमबार सेनाले थप जिल्लामा पनि सैन्य कानून लागू गरेको छ ।

म्यानमारमा सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा करिब दुई तिहाई ल्याउन सफल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) गठबन्धनले नयाँ संसदबाट सरकार निर्माण गर्ने दिन नजिकिँदै गर्दा गत माघ १९ गते सेनाले त्यहाँको शासनसत्ता आफ्नो हातमा लिएपछि एनएलडी लगायतका प्रजातन्त्रवादी शक्तिहरूले सेनाको कदमको विरोधमा आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।यसै क्रममा आइतबार देशभरि भएका विरोध प्रदर्शनमा झन्डै ५० जनाको मृत्यु भएको म्यानमारका मानव अधिकारवादी समूहले बताएका छन् ।

सेना र प्रहरीले प्रदर्शनकारीहरूमाथि सिधै गोली प्रहार गरेका कारण एकै दिन ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ । अधिकांश मृत्यु याङ्गुनमा भएको पनि एनएलडी स्रोतले बताएको छ ।नेत्री आङ सान सूकीलाई अदालतमा पेस गर्ने तालिका भएको एक दिनअघि रक्तपात भएपछि सोमबार उहाँलाई अदालतमा इन्टरनेटको माध्यमबाट पेस गर्ने योजना प्राविधिक कारणले स्थगित भएको बताइएको छ ।प्रजातन्त्रवादी आन्दोलनकारीहरूले सूकीसहित अन्य नेताहरूको रिहाइको माग गर्दै देशमा निर्वाचित समूहले सरकार गठन गर्न पाउनु पर्ने बताएका छन् ।

सैन्य शासकहरूले सुकी र उहाँको दलका प्रमुख नेताविरुद्ध भ्रष्टाचारसहित विभिन्न मुद्दा दर्ता गरेका छन् भने आन्दोलनरत समूहले सबै मुद्दा फिर्ता गरी निर्वाचित समूहलाई सरकारको गठन गर्ने र सेनाद्वारा भएका अलोकतान्त्रिक निर्णयलाई बदर गर्न सडकमा प्राय हजारौँ मानिस उत्रिने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News