अपडेट 
२०७७ चैत्र ४, बुधबार ०७:१०

मिथिला माध्यमिकी यात्राका सहभागी मंगलवार चौथो दिन महोत्तरी जिल्ला प्रवेश गरेका छन् ।

तेस्रो दिन भारतको बिहार राज्यमा पर्ने मधुवनी जिल्लाको गिरिजास्थानमा रात्रिविश्राम गरेका यात्री मंगलवार चौथो दिन एकाबिहानैदेखि महोत्तरीको भारतीय सीमावर्ती मटिहानी आइपुग्ने क्रम शुरु भएको हो । यसअघि गत शनिबार धनुषाको ठेराकचुरीबाट यात्रा शुरु गरेका माध्यमिकी परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी, भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर र गिरिजास्थानमा पहिलो, दोस्रो र तेस्रो दिनको रात्रिविश्राम गरिसकेका छन् । गिरिजास्थानबाट सीमावर्ती भारतीय बजार मधवापुर हुँदै दशगजा (नेपाल–भारत सीमा) कटेर नेपालको महोत्तरी जिल्लाको मटिहानी प्रवेश गरेका यात्रीलाई मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल, जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी र मटिहानी नगरवासीले हार्दिक स्वागत गरेका छन् । अहिले गिरिजास्थानबाट मटिहानीसम्म १५ दिने धार्मिक यात्राका सहभागीको अटुट पङ्क्ति देखिएको छ । आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी आज चौथो दिन मटिहानीमै रात्रिबास गर्नेछन् ।

विश्रामस्थलमा श्रीराम र जानकीजीको डोला (प्रतिमा राखिएको डोली) आइपुगेपछि वरिपरिका भक्तालुले दर्शन गर्ने र विश्रामस्थलमा भजनकीर्तनसहित धार्मिक मेला आयोजना हुने परम्परा छ । यात्रीहरूको भोजन, आवास, खानेपानी, प्राथमिक उपचार र आइपर्ने अन्य कुनै कामका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्ध रहेको मटिहानी नगरप्रमुख मण्डलको भनाइ छ । यात्राको चौथो दिन मटिहानी आइपुगेका यात्री अब आठौँ दिनसम्म महोत्तरीमा रहने छन् । चौथो दिन मटिहानी, पाँचौ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रिविश्रामपछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् । नेपाल र भारतको गरी जम्मा १३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ । अघि त्रेतायुगमा श्रीराम र सीताजीले विवाहपश्चात मिथिलाका विभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा अठारौँ शताब्दीमा शुरु भएका मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् । रामसीताका पदचाप पछ्याउँदै उहाँहरूकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक भएको साधुसन्तको भनाइ छ ।

सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैँ बोकेर नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य (प्रधानाध्यापक) ईश्वरीप्रसाद पौडेल बताउनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News