अपडेट 
२०७७ चैत्र ८, आईतवार १६:१८

रौतहट : जिल्ला सदरमुकाम गौर–औरैया सडक खण्डमा पर्ने लालबकैया नदीमा पुल निर्माणको मागसहित स्थानीय वासिन्दाले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत आइतबार स्थानीय वासिन्दाले सो ज्ञापनपत्र बुझाएका हुन् । लामो समयदेखि निर्माणाधीन तत्काल सम्पन्न गर्न माग गर्दै ज्ञापनपत्रमा चैत २१ गतेभित्र निर्माण कार्य शुरु नभएमा धर्ना दिने उल्लेख गरिएको छ । लालबकैया नदीको सो पुल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ सालमा शिलान्यास गरेका थिए । त्यसपछि निर्माणको ठेक्का जसपाका सांसद रहेका हरिप्रसाद रौनियार सञ्चालक रहेको पप्पु कन्सट्रक्सनले पाएको थियो । चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको पप्पुले अहिलेसम्म निर्माण गरेको छैन । यसबीचमा पुल निर्माण नहुँदा स्थानीय वासिन्दा डुंगाको सहाराले आवतजावत गर्न बाध्य छन् । डुंगामा नदी तर्दै गर्दा दुई वर्षअघि डुंगा पल्टेर पाँच जनाको मृत्यु भएको थियो । त्यसपछि पप्पु कन्सट्रक्सनविरुद्ध देशव्यापी आन्दोलन शुरु भएको थियो र सञ्चालक सांसद रौनियारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ यादवले तत्कालै गृहमन्त्रालयमार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाइने बताए । पुल निर्माण नहुँदा स्थानीय वासिन्दाले कठिनाइको सामना गर्नुपरिरहेको बताउँदै उनले निर्माणका लागि पहल गर्नेसमेत बताए ।

Comment


Related News

Latest News

Trending News