अपडेट 
२०७७ चैत्र १४, शनिबार ०८:२९

प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि सुरु हुने भएको छ।

यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। जनगणनामा तथ्याक संकलनको कार्य पहिलो चरण २०७८ वैशाख २६ गतेदेखि जेठ १४ सम्म जम्मा २० दिन र दोस्रो चरण जेठ २५ देखि असार ८ गतेसम्म जम्मा १५ दिन हुने विभागले जानकारी गराएको हो। विभागका उपमहानिर्देशक डिल्लीराज जोशीले तथ्यांक संकलनको क्रममा सुपरिवेक्षकबाट प्रत्येक व्यक्तिको घरदैलोमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराममार्फत घर र घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेको परिवारका सदस्य संख्या, परिवारको कृषिसम्बन्धी, ऋण, बैंक खाता, सरकारी अनुदानमा घर निर्माण र व्यावसायिक तालिमसम्बन्धी विवरण संकलन गर्ने जनाए। साथै गणकहरूबाट प्रत्येक घरपरिवारमा पुगी मुख्य प्रश्नावली फाराममार्फत घरपरिवार तथा व्यक्तिको जनसांख्यिक तथा अन्य विवरण संकलन गरिने उपमहानिर्देशक जोशीले जनाए।

साथै सुपरिवेक्षणबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, क्षमता र पूर्वाधारसम्बन्धी विवरण संकलन गरिने उपमहानिर्देशक जोशीले जनाए। कोही नछुटून्, कोही नदोहोरिऊन् भन्ने मुख्य आशय जनगणनाको रहेको उनले बताए। उनले तीनवटा छुट्टाछुट्टै प्रश्नावलीको फारामसहित पहिलो पटक देशभरका ७ सय ५३ वटा स्थानीय तहसहित देशभरको जनगणना हुन लागेको जनाए। जनसंख्या व्यवस्थापनका लागि आवश्यक आवधिक जनसांख्यिक तथ्यांक उपलब्ध गराउने, जनसंख्याको प्रवृत्ति र विशेषताबारे जानकारी गराउने तथा लोककल्याणका लागि नीतियोजना तथा कार्यक्रम तर्जुमा गर्न जनसांख्यिक तथ्यांक तथा सूचक उपलब्ध गराउने उद्देश्यका साथ प्रत्येक १०/१० वर्षमा एकचोटि राष्ट्रिय जनगणना गर्ने व्यवस्था छ।

Comment


Related News

Latest News

Trending News