अपडेट 
२०७७ चैत्र १५, आईतवार ०७:१०

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले एकअर्का बीचका असहमति असमझदारी त्याग गरेर देश र प्रदेशको विकास र समृद्धिको लागि सबै एकजुट भई अगाडी बढनुपर्ने बताएका छन् ।

जनता समाजवादी पार्टी, लक्ष्मीनिया गाउँपलिकाले शनिबार आयोजना गरेको होली मिलन समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले देश र प्रदेशको समृद्धि आपसी भाईचारा र मेलमिलापसँग जोडिएकोले होली पर्वमा यी सबैलाई बिर्सेर द्वन्द्वरहित समाज निर्माण गर्न सबैले हातोमालो गर्नुपर्ने बेला आएको बताए । पटक–पटकको आन्दोलनबाट प्राप्त उपलब्धीहरु संघीयता, समावेशी, धर्मनिरपेक्षता, संविधान लगायतलाई प्रतिगमनकारी शक्ति समाप्त गर्न षडयन्त्र गरिरहेकोले त्यसको विरुद्धमा पनि हामी एकजुट भई अगाडी बढनुपर्ने मुख्यमन्त्री राउतले बताए । कोरोनाको बढ्दो कहरलाई मध्यनजर गर्दै सतर्क र सचेत भई होली पर्व मनाउन मुख्यमन्त्री राउतले सबैलाई आग्रह गरे । कार्यक्रममा पुर्व राज्यमन्त्री तथा जसपाका नेता अरविन्द साहले होली पर्वमा विभिन्न रंगका अविर प्रयोग गरे जस्तै हाम्रो समाजपनि विभिन्न जात धर्म,समुदायले भरिएकोले सबैले एकअर्कालाई सम्मान र स्वभिमानको कदर गर्नुपर्ने बताए । कार्यक्रममा जसपाका केन्द्रिय सदस्य महाजन यादवले मधेशबाट विभिन्न राजनीतिक पार्टीहरु जितेर गएपनि मधेशी जनताको हकअधिकार जनता समाजवादी पार्टीले मात्रै उठाउदै आएको बताए ।

कार्यक्रममा जसपाका नेता शेषनारायण यादवले संविधान संसोधन र जसपाका नेताहरु विरुद्ध दायर गरिएको मुद्दा फिर्ता गएपछि मात्रै जसपाले अगामी निर्णय लिने बताए । होली पर्वको शुभकामना दिदै नेता यादवले होली पर्व असत्यमाथि सत्यको विजयीको प्रतीक रहेकोले मुलुकमा प्रतिगामी शक्तिहरु आफ्ै समाप्त हुदै जाने बताए । जसपा लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जसपाका केन्द्रिय सदस्य रामपृत राम, श्रीचन्द्र मुखिया, लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादव, उपाध्यक्ष इन्दिरा देवी, जसपाका जिल्ला अध्यक्ष पशुपति यादव, जिल्ला सचिव घनश्याम यादव, युवा नेता डा. सत्रुधन यादव महिला नेतृ प्रमिला सिंह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comment


Related News