अपडेट 
२०७७ चैत्र २०, शुक्रबार ०७:०६

भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले सहकारी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड बताएका छन् ।

६४औ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले सहकारीको विकास विना देश विकास सम्भव नरहेको तर्क गरे । अघिल्लो समयमा सहकारीले मुलुकको अर्थतन्त्रमा ठूलो भूमिका निर्वाह गरेको जिकिर गर्दै गर्दै यसको व्यवस्थापन गर्दै अघि बढनुपर्ने धारणा उनको थियो । नेशनल राष्ट्रिय सहकारी बैंक लि. र संघसंस्थाको सहयोगमा जिल्ला मूल समारोह समिति धनुषा तथा जिल्ला सहकारी संघ लि. र जिल्ला बचत तथा ऋण सकारी संघ लि. धनुषाले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले तीन ‘पी’(पिपुल, प्राइभेट र पार्टनरसिप) को नीति लिएर प्रदेश सरकार अघि बढिरहेको बताए । सहकारी सम्बन्धी ऐन आएपछि प्रदेशका सहकारी संघसंस्थाहरु व्यवस्थित हुने विश्वास उनले व्यक्त गरे । संविधानले दिएको अधिकार टेकेर प्रदेश सरकारले सहकारी सम्बन्धी विधेयक प्रदेशसभामा पेश गरेको छ, उनले भने–‘समितिमा छलफलपछि विधेयक बैठकमा पेश हुन्छ ।’ प्रदेश सभा बैठकले पारित गरेपछि प्रदेशले सहकारी सम्बन्धी ऐन आउने राज्यमन्त्री यादवले जानकारी दिए ।

जिल्ला सहकारी संघ धनुषाका अध्यक्ष हरिशचन्द्र प्रसाद हरियौतको अध्यक्षतामा भएको कार्यक्रममा जसपा, नेपाल प्रदेश २ संसदीय दलका उपनेता रामअशिष यादवले सहकारी क्षेत्रलाई खाद्यान्न उत्पादनमा लाग्नुपर्ने धारणा राखे । सहकारीले तेल, चामल, दाल लगायतको खाद्यान्न उत्पादन गरेर बजारमा ल्याउनुपर्ने तर्क उनको थियो । कार्यक्रममा जसपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले सहकारीमा विवाद हुनु दुखद रहेको बताए । सहकार्य गरेर अघि बढनुपर्ने संस्थाहरु पनि विवादित हुनु दुखद रहेको उनले थपे । प्रदेशसभा सदस्य शुभचन्द्र चौधरीले झोले सहकारीलाई कारबाहीको दायरामा ल्याउनुपन धारणा राखे । सबैला नगरपालिकाका मेयर विजयशंकर साहले सहकारीको विकासको लागि तीनै तहको सरकारबीच सहकार्यको आवश्यक्ता औंल्याए । हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले न्यून वर्गीय परिवारको लागि सहकारी महत्वपूर्ण रहेको बताए । गरिबी निवारणमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले थपे । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति संतोष यादवले सहकारीलाई व्यवस्थित तरिकाले अघि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य संजय चौधरी, समाजसेवी पवन सिंघानिया, नेपाली काँग्रेसका जिल्ला सचिव विशेश्वर यादव, नेशनल सहकारी संघ लि.का मैनेजर विष्णु पराजुली, शम्भुनारायण यादव, महेश बराल, चन्देश्वर रौनियार लगायतले शुभकामना मन्तव्य राखेका थिए । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सल्लाहकार एवम् राष्ट्रिय सहकारी बैंकका केन्द्रिय संचालक धु्रवनारायण यादवले स्वागत मन्तव्य राख्दै धनुषासहित प्रदेश २ का आठै जिल्लाहरुमा रहेको सहकारीको अवस्थाबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा आस्था बचत तथा ऋण सहकारीका व्यवस्थापक नविण कर्ण, रोयल बचत तथा ऋण सहकारीका मनोहर शर्मा, बडहरीकी गंगा बलमपाकी, पूर्व सहकारी अधिकृत रामानन्द ठाकुर, शुभश्री सहकारीका अध्यक्ष विजय महतो, बचत तथा सहकारी संघ धनुषाका पूर्व अध्यक्ष रामपुकार यादव, जिल्ला बचत संघका संस्थापक अध्यक्ष विनिता यादव, रामशंकर पासवान, देवनारायण मण्डल, बौएलाल मण्डल, राष्ट्रिय सहकारी महासंघका केन्द्रिय संचालक लक्ष्मण यादव लगायतलाई दोसल्लो ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा समाजसेवी एवम् स्वर्गद्वारीका संस्थापक पवन सिंघानियालाई नगद २५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । नथुनी यादवले संचालन गरेको कार्यक्रममा जिल्ला सहकारी संघ धनुषाका उपाध्यक्ष विनोद रोहिता लगायतको सक्रिय सहभागीता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News