अपडेट 
२०७७ चैत्र २१, शनिबार ०७:१२

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो ।

यसअघि पार्टीभित्र सरकारमा जाने कि नजाने भन्ने दुई धार देखिएको थियो । प्रतिनिधिसभा पुनःस्थापना भएको झण्डै साढे १ महिनापछि नेपाली कांग्रेसले सरकार गठनबारे निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेपालको राजनीतिक घटनाक्रम फरक बाटोमा मोडिएको थियो । गएको फागुन ११ गते सर्वोच्चको फैसलाले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिए पनि राजनीतिक दलहरुले नयाँ सरकार गठन गर्न भने सकिरहेका छैनन् । कांग्रेसको निर्णयले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको बाटो खोलेको छ ।

सर्वोच्च अदालतले नेकपाको एकता भङ्ग गरेपछि प्रचण्डले दुई पटक देउवालाई सत्ता–गठबन्धनको प्रस्ताव गरेको भए पनि अहिलेसम्म कांग्रेसले ठोस निर्णय गर्न सकिरहेको थिएन ।  माओवादी केन्द्रले संसद् पुनःस्थापना भएलगत्तै ओलीको विकल्पमा कांग्रेस नेतृत्वको सरकार प्रस्ताव गर्दै आएको थियो ।कांग्रेसको पछिल्लो निर्णयले संसद्को चौथो शक्ति जसपालाई पनि ओलीकै निरन्तरता वा नयाँ गठबन्धन भन्नेबारे ठोस निर्णय लिनुपर्ने दबाब बढेको छ । यसअघि कांग्रेस, माओवादी र जसपाका नेताहरुबीच सरकार गठनबारे विभिन्न चरणमा छलफल भए पनि छलफलले सार्थकता पाउन सकिरहेको थिएन ।

Comment


Related News

Latest News

Trending News