अपडेट 
२०७७ चैत्र २४, मंगलवार ०८:०८

जनकपुरधाम । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य सुबोधकुमार गुप्ताको नेतृत्वमा उद्योगी व्यवसायीहरुको टोली सोमबार जनकपुरधाम पुगेका छन् ।

हालै सम्पन्न वीरगंज उवासंङ्घको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरु पद बहाली गरेपछि जनकरपुरधाम पुगेका हुन् । जनकपुरधाममा उनीहरुले जानकी मन्दिर पुगेर दर्शन पुजा गरेका थिए । उनीहरुले प्रदेश नम्बर नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई समेत भेटेका छन् । मुख्यमन्त्री निवास पुगेर उनीहरुले भेटघाट गरेका थिए । मुख्यमन्त्री सँगको भेटघाटका क्रममा सङ्घका अध्यक्ष गुप्ताले पर्सा तथा बारा जिल्लामा अवस्थित वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरको अवस्था बारे अवगत गराएका थिए । औद्योगिक कोरिडोरलाई वैधानिक रुपमा औद्योगिक कोरिडोरको मान्यता प्रदान गर्नुका साथै प्रदेश नम्बर २ मा रोजगारी सृजना, कृषिमा आत्मनिर्भरता, औद्योगिक क्रान्ति, प्रदेश नम्बर २ को अर्थतन्त्र निर्यातमुखी बनाउने, उद्योग, व्यवसायमुखी बैकिङ्ग नीति, नेपाल तथा भारतको व्यापारिक सम्बन्धलाई अझै सुमधुर बनाउने, कृषि क्रान्तिका लागि ‘हर खेत में पानी और हर हात में काम’ प्रदेश सरकारको नारालाई मूर्त रुप दिनुपर्नेमा उनीहरुले जोड दिएका थिए । प्रदेश २ मा भइरहेको विकास निर्माणका परियोजना फास्ट ट्रयाक, हुलाकी राजमार्ग, निजगढमा अन्तर्र ाष्ट्रिय विमानस्थलको निर्माण, मुख्य मुख्य राजमार्गहरुलाई ६ लेनमा स्तरोन्नतितर्पm मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

मुख्यमन्त्री राउतले संङ्घले अघि सारेको कृषि, औद्योगिक, व्यवसायिक, रोजगारी, विकास निर्माण सम्बन्धी मुद्दाहरुलाई प्रदेश सरकारको मातहतमा रहेका प्रदेश सरकारले पहल गर्ने तथा संघीय सरकारका मातहतका परियोजनालाई संघीय सरकार समक्ष परियोजनालाई प्रभावकारी र शीघ्र सम्पन्न गराउन पहल गर्ने बताए । भ्रमण टोलीमा सङ्घका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल केडिया, सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपालको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News