अपडेट 
२०७७ चैत्र २६, बिहीबार ११:२८

सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विवादास्पद विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश हुने भएको छ ।

संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ । १३ पुस २०७६ मा संसदको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसको फरक मतका बाबजुद सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो । समितिबाट विधेयक पारित भए लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकालेर उक्त विधेयक सच्याउन माग गरेका थिए । तर, संसदमा पेश हुन लागेको विधेयकको प्रतिवेदनमा कांग्रेसको फरक मत समेटिएको छैन ।

‘समितिबाट जे पारित भयो त्यही संसदमा पेश हुन्छ । सच्याउने हो भने हाउसमै बहस होला’, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले भनिन् । कांग्रेसले पनि अब हाउसमै विधेयकमाथि आफ्नो फरक मतलाई उठाउने भएको छ । ‘हाउसमा विधेयकको प्रतिवेदन पेश होला । त्यसमाथि हुने सामान्य छलफलमा भाग लिएर हामी आफ्ना कुरा राख्छौं’, कांग्रेस सांसद रामबहादुर विष्टले भने । विकास तथा प्रविधि समितिबाट विधेयक पारित हुँदा सांसद विष्ट र अर्का सांसद रंगमती शाहीले कांग्रेसका तर्फबाट फरक मत राखेका थिए । समितिबाट पारित भएको विधेयक जस्ताको तस्तै प्रतिनिधिसभाबाट पनि पारित भइ अगाडि बढे नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित र मौलिक अधिकार हनन हुने सांसद विष्टको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News