अपडेट 
२०७७ चैत्र ३०, सोमबार १५:३४

भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै सीमा नाकामा स्वदेश फर्किनेहरुको चाप बढेको छ ।

भारतमा कोरोनाको दोसो लहर चलिरहँदा त्यहाँ रहेका नेपालीहरु घर फर्किन थालेका हुन् । रौतहटको सीमा क्षेत्र भएर प्रत्येक दिन सयौंको संख्यामा नेपालीहरु भित्रिरहेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका उनीहरु कोरोना संक्रमण बढेसँगै घर फर्किएका हुन् ।सीमा क्षेत्रमा नेपाल भित्रिनेहरुको चाप बढिरहे पनि तथ्यांक राख्ने तथा चेकचाँज गर्ने कुनै व्यवस्था गरिएको छैन ।भारतीय शहरहरुमा लकडाउन हुन थालेपछि घर फर्कन चाहने विदेशीहरुको लागि मुम्बई लगायतका केही शहरबाट हाल निःशुल्क रेल सुविधा प्रदान गरिएको छ । लकडाउनमा परदेशमा घेरिनुभन्दा निःशुल्क रेल सुविधा पाएको बेला घर फर्किनेहरुले गर्दा सीमा क्षेत्रमा चाप बढेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाई छ ।

‘भारतबाट फर्कनेहरुलाई गौर र बंकुल नाकाबाट मात्रै प्रवेश दिने व्यवस्था गरिएको छ,’ उनले भने, ‘जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकबाटै नाकामा चेकजाँच, अभिलेखिकरण र परीक्षणको निर्णय भएको छ ।’ भारतसँगको खुल्ला नाकाका कारण स्थानीयहरु अन्य बाटो भएर प्रवेश गर्न सक्ने भएकोले सुरक्षा निकायलाई निगरानी बढाउन निर्देशन दिएको पनि प्रमुख जिल्ला अधिकारी यादवले बताए । जिल्लामा पीसीआर ल्याब सञ्चालनमा रहेको तथा सबै पालिकाहरुलाई क्वारेन्टिनको व्यवस्थापन गर्न पत्राचार गरिएको पनि यादवले जानकारी दिए । रौतहटको धरहरीमा रहेको आइसोलेसनलाई पुनः सञ्चालन गर्ने तयारी भएको पनि उनले बताए ।

Comment


Related News