अपडेट 
२०७७ चैत्र ३१, मंगलवार ०७:१७

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको ६ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताउनुभएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सोमबार राजधानीमा आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमको समापनमा उहाँले भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा आगामी वैशाख ११ गते उद्घाटन गरिने जानकारी दिनुभयो ।

भूकम्पले भत्किएका ९३ प्रतिशत घर पुनःनिर्माण सम्पन्न हुन लागेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था, ८ सय किमी सडक पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । सम्पदाका मौलिक एवं आकर्षक कलाकृति जोगाउन भूकम्पपछि प्रबलीकरणको प्रविधि भित्रिनु सुखद् विषय भएको उहाँको भनाइ थियो ।जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले उपत्यकामा स्ववासी, सुकुम्वासी र सार्वजनिक जग्गामा बसेकाका कारण पुनःनिर्माणले गति लिन नसकेको बताउनुभयो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले पुनःनिर्माणसम्बन्धी सेवा प्रवाह गर्न टिआई नेपालको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमले सहयोग एवं सतर्क बनाएको विचार राख्नुभयो ।

Comment


Related News

Latest News

Trending News