अपडेट 
२०७८ बैशाख १, बुधबार ०८:०१

जनकपुरधाम । सर्लाहीको पुर्व–पश्चिम हुलाकी राजमार्गको यात्रा धुलोले गर्दा कष्टकर बनेको छ । बजेट अभावमा निर्धारित समयमा सडक निर्माण पुरा नहुदा सुख्खा समयमा उड्ने धुलोले सर्वसाधारण समस्यामा परेका छन् । सदरमुकाम मलंगवा जोडने हुलाकी सडकको यात्रा धुलोका कारण कष्टकर बनेको हो ।

धुलोकै कारण सडकमा यात्रा गर्नेहरु बिरामी हुन थालेका छन् । सडक आसपासका बस्ती धुलाम्मे बनेको छ । सडक आसपासको घर धुलोले ढाकिएको छ । धुलोका कारण यात्रा गर्न समस्या भएपछि हुलाकी सडक जोडिएका सर्लाहीका स्थानिय तहका प्रमुख र राजनीति दलका नेताहरु तत्काल सडक निर्माणका लागि दवाव बढाएको छ । सर्लाहीका जनप्रतिनिधिहरुले हुलाकी सडक निर्माणको माग गर्दै मंगलबार प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउदै आन्दोलनको चेतावनी दिएका छन् । महोत्तरी–सर्लाही सीमाना शितलपुरदेखि सर्लाही–रौतहट सिमाना छतौनासम्म निर्माण ठेक्का लागेको सडक निर्माणको माग गर्दै जनप्रतिनिधिहरुले प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको हो । राष्ट्रिय गौरबको योजना अन्तर्गत ६५ करोडमा ठेक्का लागेको हुलाकी राजमार्ग आयोजनाको ३ वटा प्याकेजका लागि न्युन बजेट विनियोजन हुदा सडक निर्माण अलपत्र परेको छ । प्रदेश सरकारबाट न्युन बजेट विनियोजन भएकोले संघीय सरकार अन्तर्गत चन्द्रनिगाहपुर सडक डिभिजन कार्यालयले सडक योजना संघीय सरकारलाई फिर्ता पठाउने उद्येश्यले भौतिक पुर्वाधार विकास मन्त्रालयमा टिप्पणी दर्ता गराएकोले तत्काल योजना संघीय सरकारलाई फिर्ता पठाइदिन माग गर्दै ज्ञापन पत्र बुझाएको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मैथुर चौधरीले बताए । ठेकेदारलाई बजेट अभाव भएकोले योजना संघीय सरकारलाई अविलम्व फिर्ता गर्न ज्ञापन पत्र बुझाएको चौधरीले बताए ।

मुख्यमन्त्री लालबाबु राउत र भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई ज्ञापन पत्र बुझाउदै संघीय सरकारले बजेट कटौती गर्दा सडक निर्माण अलपत्र परेकोले तत्काल निर्माण प्रक्रिया अगाडी बढाउन माग गरेका छन् । सर्लाही हरिपुर्वा नगरपालिकाका प्रमुख सियाराम राय, पर्सा गाउँपालिका प्रमुख किशुनदेव राय, ब्रहम्पुरी गाउँपालिकाका प्रमुख बिनोद कुमार साह, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, कौडेना गाउँपालिकाका प्रमुख राम प्रसाद राय, गोडैता नगर पालिकाका प्रमुख देवेन्द्र कुमार यादव, बलरा नगरपालिका प्रमुख अभय कुमार सिंह सहित राजनीति दल र नागरिक समाजका अगुवाहरुले सडक निर्माणको माग गर्दै ज्ञापन पत्र बुझाएको नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले बताए । हुलाकी सडकसँगै अन्य भित्री सडकहरुको निर्माण कार्य अघि बढाउन दबाब दिने उद्देश्यले सोमबार सदरमुकाम मलंगवामा सर्वपक्षीय छलफल भएको थियो । छलफलमा सडक निर्माणको काम अघि बढाउन प्रदेश र संघीय सरकारलाई दबाब दिने निर्णय भएको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख चौधरीले बताए । सडक निर्माणको काम अघि बढाउन दबाब दिन मंगलवार पालिकाका प्रमुखहरु भौतिक पूर्वाधार मन्त्रालय जनकपुरधाममा डेलिगेसन जाने निर्णय गरेका थिए ।

डेलिगेसन गएर ध्यानार्षण गराउँदा समेत सडक निर्माणबारे सरकारले चासो नदेखाए मन्त्रालयमै पुगेर धर्नामा बस्ने सर्वपक्षीय बैठकले निर्णय गरेको छ । धूलोको समस्या हल गर्न तत्कालका लागि ठेकेदारलाई दिनहु पानी हाल्न भनिएको छ । ठेकेदारले विभिन्न बहानाबाजी गर्दा सर्लाहीमा २०७३ सालमै ठेक्का लागेको हुलाकी सडकको निर्माण कार्य पूरा हुन सकेको छैन् ।

Comment


Related News