अपडेट 
२०७८ बैशाख २, बिहीबार ०६:२९

राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ ।

कोरोनाको जोखिम कायमै रहेको भन्दै स्थानिय प्रशासनले मेला लगाउने अनुमति नदिएपछि बैशाख १ गते बुधबारदेखि सुरु हुने भनिएको दुबै मेला स्थागित गरिएको हो । नव वर्षको अवसर पारेर प्रत्येक वर्ष जिल्लाको शम्भुनाथ नगरपालिकाको शम्भुनाथ मन्दिर प्राङ्गणमा एक महिने लामो मेला लाग्द आएको थियो । यस्तै जिल्लाकै बोदेबरसाइन नगरपालिकास्थित लक्ष्मीनारायण मन्दिर (नाककट्टाधाम) प्राङ्गणमा पनि सोही दिनदेखी २० देखी ३० दिनसम्म ठूलो मेला लाग्दै आएको थियो । विगतमा उक्त मेलाहरुमा स्वदेशी तथा विदेशी गरि २५ लाख भन्दा बढी भक्तजनहरु मेला भर्न आउने गरेको सम्बन्धित मन्दिर तथा मेला व्यवस्थापन समितिको भनाई छ । शम्भुनाथ मन्दिरका मूल पुजारी सूर्यनारायण झाले कोरोनाको जोखिमका कारण गत वर्ष पनि रोकिएको मेला यस पल्ट पनि स्थानिय प्रशासनको निर्देशनमा रोकिएको बताएका छन् । अघिल्लो दिन नै सुरक्षाकर्मीहरु आएर मन्दिरमा पूजापाठ बाहेक अन्य भिडभाड हुने खालका कुनै पनि गतिविधी संचालन नगर्न कडा निर्देशन दिएपछि मेलाको आयोजना नगर्ने निर्णयमा मेला समिति पुगेको उनको भनाई छ । यस्तै बोदेबरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवले कोरोना माहामारीका कारण मन्दिर परिसरमा भिडभाड नगर्न तथा मेलाको आयोजना नगर्न स्थानिय प्रशासनले आग्रह गरेपछि यसपल्ट पनि पूजापाठ बाहेकका सबै आयोजना रोकिएको बताए ।

कोभिड १९ संक्रमणको विद्यमान स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्देशन जारि गरिएको तथा भिडभाड नगरि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सबैलाई भौतिक दुरी कायम गरि चाडपर्व मनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । तराई क्षेत्रमा यती लामो समयसम्म अटुट रुपमा मेला लाग्ने गरेका यस्ता धार्मिक स्थल कमै छन् । तर कोरोनाको जोखिमलाई ध्यानमा राखेर स्थानिय प्रशासनले जारि गरेको निर्देशन समय सापेक्ष भएको स्थानियको भनाई छ ।

Comment


Related News