अपडेट 
२०७८ बैशाख ६, सोमबार ०८:३९

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्ने विषयमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले एकै खालको प्रस्ताव प्रदेशसभामा दर्ता गराएको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार जसपा र माओवादी केन्द्र प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा आईतवार छुट्टा–छुट्टै प्रस्ताव दर्ता गराएको हो । सत्तारुढ जसपाका सांसद शैलेन्द्रकुमार यादवले प्रदेशको नाम मधेस हुनुपर्ने भन्दै दर्ता गराएको प्रस्तावमा सांसदहरु रानी शर्मा तिवारी र वविता कुमारीले समर्थन जनाएका छन् । यस्तै जसपा साँसद प्रमेश्वर साहले प्रदेशको स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै दर्ता गराएको प्रस्तावमा चमेलीदेवी दास, सञ्चमाया मोक्तान र मीराकुमारी साहले समर्थन जनाएका छन् । माओवादी केन्द्रका सांसद भरतप्रसाद साहले मधेस नामाकरण हुनुपर्ने र स्थायी राजधानी जनकपुरधामलाई तोक्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् । उनको प्रस्तावमा उपनेता जगतप्रसाद यादव र प्रमुख सचेतक दिलीपकुमार साहले समर्थन गरेका छन् । एमालेसँग माओवादी केन्द्र एकिकरण पश्चात बनेको नेकपाले यसअघि प्रदेशको स्थायी राजधानीजनकपुरधाम नै हुनुपर्ने तर प्रदेशको नाम मिथिला भोजपुरा राख्नुपर्ने प्रस्ताव दर्ता गराएको थियो । माओवादी केन्द्रले पनि मधेस प्रदेशको पक्षमा उभिएपछि अब नामाकरण र स्थायी राजधानी टुङ्ग्याउन सरकारलाई सहज हुने भएको छ । प्रदेशको नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत चाहिने कानूनी व्यवस्था छ । प्रदेश सभामा कुल १ सय ७ साँसद थिए । जसमध्ये माओवादी केन्द्रले ४ साँसदलाई पदमुक्त गरेपछि मात्र १ सय ३ जना छन् । यसको दुईतिहाइ बहुमत पुर्याउन ६९ साँसद एकठाउँमा उभिन आवश्यक छ । प्रदेशसभामा सत्तारुढ जसपासँग ५५, माओवादीसँग ७, नेकपा एमालेसँग २१, नेपाली काँग्रेससँग १९ र नेपाल समाजवादी पार्टीको १ साँसद छन् । मधेस प्रदेशको पक्षमा उभिएका जसपा र माओवादीको साँसद जोड्दा ६२ साँसद पुग्छ । दुईतिहाइ बहुमतपुर्याउन थप ७ साँसद आवश्यक पर्छ ।

हुन त नेकपा एमाले मधेस प्रदेशको पक्षमा उभिने सम्भावना छैन । यधपी माधव नेपाल समूहले सहयोग गरेपछि प्रदेशको नाम मधेस पास हुने निश्चित छ । यसअघि ०७६ चैत ४ मा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने विषयमा प्रदेशसभामा मतदान नै भएको थियो । त्यतिबेला काँग्रेसले प्रदेशको नाम जानकी प्रस्ताव गरेको थियो । प्रदेशसभाले वैशाख २ मा नामाकरण र स्थायी राजधानीका लागि आह्वान गरेको प्रस्ताव दर्ताको समय ७ दिनको दिइएको छ । काँग्रेस र नेकपा एमालेले आइतवारसम्म प्रस्ताव दर्ता गराएको छैन । एमाले साँसद प्रमोद यादवले वैशाख ८ गते प्रस्ताव दर्ता गराउने बताएपनि प्रदेशको नाम विषयमा छलफल गरिरहेको बताए । काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेशको राजधानी जनकपुरधाम दतगर्ने बताउँदै नाम मिथिला प्रदेशको प्रस्ताव दर्ता गर्ने बताए । यसअघि जनकपुरधामलाई राजधानी तोक्ने विषयमा सबै दलबीच सहमती भइसकेको थियो । तर प्रदेशको नाम मधेस राख्नुपर्ने सत्तारुढ जसपाको प्रस्ताव फेल भए । सोही कारण जसपाले राजधानी जनकपुरधामलाई बनाउने प्रस्तावको पनि विपक्षमा मतदान गरी फेल गराइएको थियो । प्रदेशसभा गठन भएको साढे तीनवर्ष वित्दा पनि नामाकरण र स्थायी राजधानीको टुङ्गो नलाग्दा प्रदेश सरकारको जताततै आलोचना भइरहेको छ । झण्डै ६ महिनापछि चैत ३० मा बसेको प्रदेशसभा बैठकमा पनि स्थायी राजधानी र नाम तोक्न ढिलाइ गरेको भन्दै प्रदेश सरकारको आलोचना भयो । त्यसपछि प्रदेश सरकारको आग्रहमा वैशाख २ मा प्रदेशसभा सचिवालयले नाम र राजधानी तोक्ने विषयमा प्रस्ताव आह्वान गरिएको छ ।

राष्ट्रिय राजनीतिमा भइरहेको ध्रुविकरण अनुसार प्रदेश २ मा पूर्व समाजवादी पार्टी, नेकपा एमालेको नेपाल–खनाल समुह र माओवादी केन्द्र एकजुट हुन सक्ने संभावना छ । पूर्व राजपा र एमालेको ओली समुह संघीय सरकारमा मिलेर प्रदेश २ मा पनि सहकार्य गर्ने संभावना छ ।काँग्रेस पार्टी भने अलग नै रहनेछ ।

Comment


Related News

Latest News

Trending News