अपडेट 
२०७८ बैशाख ७, मंगलवार ०६:४८

वीरगञ्ज । देशकै आर्थिक राजधानीका रुपमा रहेको वीरगञ्जलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने उद्देश्यका साथ प्रदेश नं २ सरकारले सोमबार वीरगञ्जमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । वीरगञ्जमा विज्ञान तथा प्र्रविधि विश्वविद्यालय सञ्चालनका लागि प्रदेश सरकारले तयार पारेको विधेयकको विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरी राय सुझाव सङ्कलन गरेको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश नं २ जनकपुरधामले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी रहेका वक्ताहरुले वीरगञ्जमा स्थापना गर्न लागिएको विज्ञान तथा प्राविधिक विश्वविद्यालयलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनाउनबाट जोगाउन स्वायत्त संस्थाका रुपमा विकास गर्न सुझाव दिएका छन् । वीरगञ्जमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसलाई केन्द्रका रुपमा राखी विश्वविद्यालय बनाउन सुझाव दिँदै वक्ताहरुले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक आर्थिक स्रोतको अभाव हुन नदिन गहन अध्ययन गरी नी िनियम बनाउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । अन्तरक्रियामा मुख्यमन्त्री लालबाबु राउतले विज्ञान प्रविधिको युगमा पुरातन शिक्षाले चाहेको जस्तो विकास हासिल गर्न नसकिने धारणा व्यक्त गरे । उनले आजको युग विज्ञान तथा प्रविधिको युग भएकाले पुरानो शिक्षा पद्धतिलाई विस्थापित गर्दै अबका युवालाई प्राविधिक शिक्षा दिन सकिए चाहेको जस्तो समृद्ध चाँडै हासिल गर्न सकिने बताए ।

आधुनिक शिक्षा नै आजको अवश्यकता भएकाले प्रदेशका विभिन्न जिल्लामा प्रदेश सरकारले प्राविधिक शिक्षाका लागि विषयगत विश्वविद्यालय खोल्ने तयारीमा लागेको मुख्यमन्त्री राउतले जानकारी दिए । उनले जनकपुरमा स्वास्थ्य विज्ञान प्रतिस्थान, सप्तरीमा कृषि विश्वविद्यालय र वीरगञ्जमा विज्ञान तथा प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारीमा प्रदेश सरकार रहेको बताए । कार्यक्रममा सहभागी रहेका प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्राविधिक तथा विषयगत शिक्षाको ‘हब’ बनाउन सकिने प्रचुर सम्भावना भएकै कारणले प्रदेश सरकारले विभिन्न जिल्लामा प्राविधिक तथा विषयगत विश्वविद्यालय स्थापना गर्न अग्रसरता लिएको जानकारी दिए । उनले प्रदेशका विभिन्न जिल्लामा विषयगत तथा प्राविधिक विश्वविद्यालय खोल्न प्रदेशसभाले समेत अनुमति दिइसकेको बताउँदै उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा केही बजेटसमेत विनियोजन गरिएको जानकारी दिए ।रासस

Comment


Related News

Latest News

Trending News