अपडेट 
२०७८ बैशाख ८, बुधबार ०७:४८

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि धनुषाका विद्यालयहरु पनि बैशाख मसान्तसम्म बन्द हुने भएको छ ।

मंगलबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गर्न निर्देशन दिएको हो । सरकारले सोमबार नै जोखिममा रहेका जनकपुरधामसहितका विभिन्न शहरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर स्थानीय तहहरुले जोखिम नरहेको भन्दै विद्यालय बन्दको निर्णय कार्यान्वयन गरेको छैन् । मंगलवार धनुषा जिल्लाभरका विद्यालय सञ्चालन भयो । सोही कारण जिल्ला संकट व्यवस्थापन समितिले विद्यालय बन्द गर्न निर्देशन दिएको छ । सुरु भइसकेको परीक्षा स्वास्थ्य मापदण्डको पालना गरी वैशाख १० गतेभित्र सम्पन्न गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको समितिको बैठकले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयलाई पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको छ । सेवाग्राहीको अत्यधिक भीडभाड हुने सरकारी कार्यालयहरुमा भीडभाड कम गरी संक्रमण जोखिम न्यूनिकरण गर्न अनलाईनलगायतका अन्य वैकल्पिक प्रणालीको उपयोग गर्न र आलोपालो प्रणाली लागु गर्ने निर्णय पनि समितिको बैठकले गरेको छ । अब सबै स्थानीय तहले पुनः आइसोलेशन सेन्टर संचालनमा ल्याउनुपर्ने भएको छ ।

समितिको बैठकले उपमहानगरपालिकालाई ३० बेड, नगरपालिकालाई २० बेड र गाउँपालिकालाई १० बेडको कम्तिमा आइसोलेशन सेन्टर सञ्चालन गर्न निर्देशन दिएको छ । बैठकमा उपस्थित भारतीय सिमासँग जोडिएको स्थानीय तहहरुका प्रमुखहरुले सिमानाकामा अनिवार्य रुपमा हेल्थ डेस्क स्थापना गर्ने र आवश्यकताको आधारमा होल्डिङ सेन्टरको स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् । समितिको निर्णय अनुसार जिल्लाभित्रका प्रादेशिक अस्पताल र अन्य सरकारी, अर्धसरकारी, निजी तथा सामुदायिक अस्पतालहरुले निश्चित संख्यामा कोभिड बेड छुट्याई सरकारले तोकेको न्यूनतम शूल्कमा सेवा दिने व्यवस्था मिलाउनेछ । आइसियु, भेन्टिलेटर, सिसियू, एचडियू आदिलाई अद्यावधिक हालमा राख्ने निर्णय पनि समितिले गरेको छ । यस्तै गरिब, विपन्न, श्रमिक, मजदुर, ज्येष्ठ नागरिकलाई निःशुल्क मास्क वितरण अभियानका लागि उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, गैसस, धार्मिक, सामाजिक र परोपकारी संघ संस्थाहरुलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ । बजारमा मास्क, सेनिटाइजर, कोभिड–१९ मा प्रयोग हुने औषधीहरु सहुलियतपूर्ण दरमा उपलब्ध गराउन, कालोबजारी र अभाव हुन नदिन उद्योग बाणिज्य संघ धनुषा र नेपाल केमिस्ट ड्रग एशोसिएसनले संयोजन तथा समन्वय गर्ने निर्णय पनि भएको छ । कोरोना संक्रमण बढेका कारण सबैभन्दा बढी आवश्यकता एम्बुलेन्स र शव वाहनको पनि आवश्यकता पर्छ । यस सन्दर्भमा जिल्लाका सबै एम्बुलेन्स र शव बाहनलाई चालु हालतमा स्वीकृति पाएकै स्थानमा राख्न सम्बन्धित पक्षलाई समितिले निर्देशन दिएको छ । एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य सामग्रीहरुसहित परिचालन गर्ने समितिले जनाएको छ ।

यस्तै स्थानीय तहले शव व्यवस्थापन गर्ने स्थान ७ दिनभित्र तोकी डिसिसिएमसीलाई जानकारी गराउने निर्णय पनि गरिएको छ । जिल्लाका विभिन्न स्थानमा लाग्ने हाट बजार (पेठिया)हरुमा भीडभाड अत्यधिक हुने गरेको छ । अब पहिले लाग्ने हाट बजारलाई बजार केन्द्रभन्दा अलि खुल्ला स्थानमा सार्न पनि निर्देशन दिएको छ । यस्तै मापदण्डको पालना गरी विहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म मात्र संचालन गर्नदिने निर्णय समितिले गरेको छ । निर्णय कार्यान्वयण भए/नभएको निर्णय स्थानीय तह र नेपाल प्रहरीले गर्नेछ ।

प्रयोगशालामा कर्मचारी अभाव

जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कर्मचारी अभावका कारण पीसीआर परीक्षणको दायरा बढाउन कठिन भएको छ । विगतमा राखेका कर्मचारीले तलब नपाएर आन्दोलन गर्दा प्रयोगशालाले विदा दिएपछि कर्मचारी अभाव भएको हो । प्रयोगशालामा कर्मचारी पूर्ति गर्न यसयघि बसेको समितिको बैठकले पनि सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो । मन्त्रालयलाई समितिले पत्रपनि पठायो । तर अहिलेसम्म कर्मचारी भर्ना गरिएको छैन । प्रयोगशालाले ३६ कर्मचारी आवश्यक भएको सूचना समितिमा पठाएको छ । समितिको मंगलवारको बैठकले कर्मचारी पूर्ति गर्न मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पुनः गरेको छ । यस्तै प्रादेशिक अस्पताल जनकपुरधाममा पनि छुट्टै कोभिड वार्ड संचालन गर्न कर्मचारी अभाव भएको छ । समितिले अस्पतालबाट प्रस्ताव भएका अत्यावश्यक थप जनशक्ति नियमानुसार यथाशिघ्र पूर्ति गरी अस्पतालको सेवा प्रभावकारी बनाउन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

Comment


Related News

Latest News

Trending News