अपडेट 
२०७८ बैशाख ९, बिहीबार १०:१७

लहान । रमजान पर्व सुरु भएपछि ईस्लाम धर्मावलम्बीहरुको दिनचर्या फेरिएको छ । प्रायः विहान उठ्ने गरेको लहानको मुस्लीम बस्ती टोलहरुमा अचेल राति साढे दुई बजे नै चहल पहल सुरु हुन्छ । ‘रमजान पर्व’ सुरु भएपछि उनीहरुको दिनचर्या फेरिएको हो । पर्वको व्रत उज्यालो नहुँदै सुरु हुन्छ र सूर्य अस्त भएपछि सिदिन्छ । रोजा अवधिलाई तीन असरामा बाँडिएको हुन्छ । प्रत्येक असरा १० दिनको हुन्छ । पहिलो असरा भनेको रहमत हो, यसमा अल्लाको ढुकुटीको ढोका खुल्ला रहन्छ । यसमा मुसलमानले आफ्नो कर्म अनुसार अल्लाहको खजानाबाट लाभ प्राप्त गर्ने धार्मिक विश्वास छ । दोस्रो असरा मगफिरतको हो । यसमा मुसलमानबाट जानअन्जानमा हुने गल्तीबाट माफी मागिन्छ । अन्तिम असरा भनेको जहन्नमको आगोबाट बच्ने हो । यसमा पनि अल्लाहले अनुयायीलाई सकेसम्म कृपा गर्छन् सप्तरीको सुरुङ्गा नगरपालिका ७ हरिपुरका मोहम्द नजामुदिनले बताए ।

रमजान महिना रोजा बस्ने एकदमै कठिन व्रत हो, उनले भने । यो महिनामा गरिब दीनदुःखीलाई सहयोग गर्ने, झुठो नबोल्ने, फित्तरा निकाल्ने, चोरीडकैती र झगडा नगर्ने, नमाज पढ्ने तथा त्याग गर्नुपर्ने जस्ता विशेषता पर्वमा छ । रोजाको समयमा मुसलमानले निराहार बस्नुपर्छ । यहाँसम्म कि जानेर थुक पनि निल्नु हुँदैन । खैनी, चुरोट, गुट्खा र पानजस्ता पदार्थका व्यसनीलाई फजुल खर्चबाट जोगाई आफ्नो बानीमा परिवर्तन ल्याउन यसबाट ठूलो अवसर प्राप्त हुन्छ । रोजाजस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाको रुपमा मनाउने गरेको फिरोज सिद्दिकीले बताए । रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नाका साथै रातमा थप तराबीको नमाज पढ्ने गरेको उनले बताए । अहिले मुसलमान बस्तीमा दिउँसो भन्दा पनि रातको समयमा बढी चहलपहल देखिन्छ । तराबी नमाज २० रिकातको हुन्छ भने कुरान पूरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले पढाउ छन् । नमाजबाट अल्लाह निकै खुसी हुने र मानव जाति तथा प्रकृतिको कल्याण हुने भएकाले तराबी नमाजलाई मुसलमानले निकै महत्वका रुपमा लिएको पाइन्छ । रमजान कुनै एक निश्चित महिनामा मात्र नभई प्रत्येक वर्ष १० दिनअघि सर्ने गर्छ । यसले गर्दा १२ वर्ष उमेर पुगेका मानिसले ४८ वर्षको उमेरसम्म सबै महिनाको रोजाको स्वाद पाइसक्छन् । रोजा नबस्ने मानिस समुदायमा घृणाका पात्र बन्छन् ।

रमजान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरिएको छ । यस पर्वमा प्रत्येक मुसलमानहरूले जनही एक किलो ७५० ग्राम गहुँको मूल्य फित्तराभाग) निकाल्नुपर्छ भने साढे सात तोला सुन र ५२ तोला चाँदीभन्दा बढी हैसियत भएका मुसलमानले आफ्नो सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ । यस्तो फित्तरा र जकात गरिब असहाय र दीनदुःखीलाई बाँड्नुपर्छ । फित्तरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुभन्दा अगावै निकालिसक्नु पर्छ । यो नियम नेपालका मुसलमानका लागि मात्र नभई संसारभरिकै मुसलमानमा लागु हुन्छ गरेको मुसलमान शास्त्रीहरुले बताउछन् । रोजाको अवधिमा शारीरिकरुपमा दुब्लाए पनि मानसिकरुपमा निकै गौरवान्वित ठान्ने मुसलमानले इस्लाम धर्मका पाँच आधारभूत सर्त कलमा, रोजा, नमाज, जकात र हजअन्तर्गत हजबाहेक सबै आधारभूत सर्त पूरा गर्ने अवसर प्राप्त गर्छन् । अमिलो डकार आएमा, उल्टी भएमा, खानेकुरा मुखमा हालेमा, महिनावारी भएमा र सम्भोग गरेमा रोजा टुट्ने भएकाले यी कुरामा धर्मावलम्बीले विशेष ख्याल राख्ने गरेको शास्त्री मोहमद रेहानले बताए ।

३० दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर पुरुष मुसलमानले सामूहिकरुपमा नमाज पढी इदुलफित्र मनाउँछन् । एकले अर्कालाई अँगालो मारेर इद मुवारक एवम् बधाइ साटासाट गरी घरमा गएर मीठा मीठा खानेकुरा खाने गरेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News